• Saturday 25th of July 2026

कृषि क्षेत्रमा लगानी बढाउन वाणिज्य बैंकलाई अर्थमन्त्रीको आग्रह


  • गोकर्णेश्वर अनलाइन

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गर्नुभएको छ । बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गर्नुभएको हो ।

“यो ५७औँ वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ”, उहाँले भन्नुभयो, “यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ ।”

जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्नेछ ।” उहाँले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउनुहुँदै लगानी त्यसमा लगानी बढाउन आग्रह गर्नुभएको हो । मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको बताउनुहुँदै बैंकले वैदेशिक ऋण भित्र््याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो”, उहाँले भन्नुभयो, “यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।” उहाँले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थालाई पनि शिक्षा दिन सक्नुपर्ने बताउनुभएको हो ।

पछिल्लो समय प्रविधिको युग रहेको बताउनुहुँदै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुनेमा पनि विश्वास व्यक्त गर्नुभयो । बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले युएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पणसमेत गर्नुभएको थियो । बैंक २०२२ साल माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology