• Wednesday 29th of July 2026

कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउँछः मुख्यमन्त्री शाही


  • गोकर्णेश्वर अनलाइन

कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताउनुभएको छ । सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब तीनभित्र सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले राससलाई जानकारी दिनुभयो । रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ ।”

सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा सोधिएका प्रश्नको जवाफ पनि दिने उहाँले बताउनुभयो ।

कर्णालीमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका छ र समाजवादीका तीन प्रदेशसभा सदस्य हुनुहुन्छ । जसमा माओवादीले चार, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले तीन मन्त्री पाउनुपर्ने प्रस्ताव राख्दै आएका थिए । सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्दछ ।

सरकारमा गठबन्धन दलभित्र कसको कति मन्त्री हुने भन्ने कुराको जानकारी पनि त्यही दिन सार्वजनिक गर्ने बताउँदै मुख्यमन्त्री शाहीले सत्ता गठबन्धन दलभित्रको लामो गृहकार्यपछि कर्णाली सरकार आफ्नो लयमा अघि बढ्ने जनाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology