• Sunday 26th of July 2026

बाँकेमा औलोका रोगी बढ्दै


  • गोकर्णेश्वर अनलाइन

भारतसँगको खुल्ला सीमा नाकाका कारण बाँके जिल्ला औलो रोगको जोखिम बढेको छ । औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो ।

उहाँका अनुसार गत डिसेम्बर महिनामा मात्रै जिल्लामा ४५ जनामा औलो पहिचान भएको थियो । त्यसमा सबैभन्दा धेरै नरैनापुरका मात्रै ४० जना छन् । नेपालगञ्ज, कोहलपुर र डुडुवा गाउँपालिकामा एक–एकजना र खजुरा गाउँपालिमा दुईजनामा औलो पहिचान भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा राखेको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकलाई औलो परीक्षण गर्ने गरेको छ । औलो लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखापर्ने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।

नेपालगञ्जको भेरी अस्पताल, मेडिकल कलेजलगायत अस्पतालमा परीक्षण, पहिचान र उपचार निःशुल्क हुने स्वास्थ्य कार्यालयका रोग नियन्त्रण अधिकृत दुर्गा गौतमले बताउनुभयो । उहाँका अनुसार, औलो रोग भएमा शरीरका भित्री अङ्गहरु फियो तथा कलेजो सुन्निने, रगतको मात्रा कमी हुने र परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले सख्त रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ । औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरीका औषधि सरकारका तर्फबाट निःशुल्क उपलब्ध छ । औलोको जोखिम कम गर्न झूल तथा लामखुट्टे भगाउने रसायन प्रयोग गर्नुपर्ने हुन्छ ।
लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झूल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय भएको उहाँको भनाइ थियोे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology