• Sunday 26th of July 2026

समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग


  • गोकर्णेश्वर अनलाइन

सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ ।

भरतपुर अस्पतालका हेपाटोलोजिष्ट डा रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउनुहुन्छ । ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उहाँको भनाइ छ ।

नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन् । यसै विषयमा डिएम गर्नुभएका श्रेष्ठले नेपालमा नौ जनाले मात्रै हेपाटोलोजिमा डिएम गरेका चिकित्सक रहेको जानकारी दिनुभयो । वीर अस्पतालबाट डिएम सकेपछि छात्रावृत्ति करारमा यहाँ आउनु भएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिनुभएको छ ।

बिहान बेलुकाको समयमा मौलाकालिका अस्पतालमा सेवा दिँदै आउनु भएका श्रेष्ठले भन्नुभयो,“सामान्य लक्षणलाई बेवास्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउने गरेको छ ।” उहाँले अगाडि थप्नुभयो,“कलेजो रोग लागेपछि लक्षण देखिएकै हुन्छन् । तर हल्का रुपमा लिँदा पछि गम्भीर बन्न सक्छ ।” उहाँले अगाडि भन्नुभयो, “बिरामीले सुरुकै अवस्थामा गम्भीर रुपमा नलिँदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ ।”

सामान्य भाषामा भन्नु पर्दा जण्डिस् (पहेँलो रोग) लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षण भएको उहाँको भनाइ छ । कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रङ्ग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिने गरेको श्रेष्ठले बताउनुभयो ।

कलेजो रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान पु¥याउनुपर्ने बताउनुहुँदै उहाँले भन्नुभयो,“पोषिलो खानेकुरा खानुपर्छ । सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारी सबै खान सकिन्छ । यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ ।” धूमपान, मद्यपान, लागुपदार्थ जस्ता वस्तुले कलेजोलाई हानी गर्ने भन्दै उहाँले भन्नुभयो, “कलेजो रोगका बिरामीले यस्ता वस्तु बार्नैपर्छ, अर्थात् खानै हुँदैन । यी वस्तुको सेवनले कलेजोको दीर्घरोग बनाउँछ ।”

मादक पदार्थको सेवनले ‘अल्कोहलिक लिवर डिजिज’ बनाउने र पछि गएर सिरोसिस (कलेजोले कामै नगर्ने अवस्था) बन्ने श्रेष्ठको भनाइ छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपणको विकल्प नहुने श्रेष्ठको भनाइ छ । बालबालिकामा पनि कलेजो रोग हुने भन्दै उहाँले अगाडि भन्नुभयो,“जण्डिसका कारणले, जन्मजात पनि बालबालिकामा कलेजो रोग हुनसक्छ ।” बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिने चिकित्सकको भनाइ छ ।

कतिपयमा कलेजोको क्यान्सरसमेत हुन्छ । मादक पदार्थ सेवा नगर्नेमा पनि कलेजोको सिरोसिस हुनसक्नेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले भन्नुभयो “त्यसलाई हामी नन अल्कोहलिक फ्याटीलिवर डिजिज भन्दछौं । जाड, रक्सी नखाने मानिस तर कलेजोमा बोसो जमेर सिरोसिस हुनसक्छ ।” मोटोपन, मधुमेह, उच्च रक्तचाप भएका, कोलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उहाँको भनाइ छ । समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिइरहनु राम्रो हुने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology