• Wednesday 29th of July 2026

संसद् अवरोधले लज्जाबोध भयोः गठबन्धन दल


  • गोकर्णेश्वर अनलाइन

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताहरुले सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने कानुनी व्यवस्थालाई उल्लङ्घन गर्दै संसद् अवरुद्ध गर्नु नाजायज भएको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्ष दल नेकपा (एमाले) प्रति सङ्केत गर्दै संसद् खुलाउन सद्बुद्धि आउनुपर्ने बताउनुभयो । “यसले लोकतान्त्रिक प्रतिबद्धताप्रति नै प्रश्न खडा गरेको र स्वयं उक्त पार्टीको आफ्नो प्रतिष्ठा खस्किएको छ”, उहाँले भन्नुभयो, “यसको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने अवस्था आउन सक्छ ।”

जनता समाजवादी पार्टी नेपाल (जसपा) सङ्घीय परिषद्का अध्यक्ष पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भन्नुभयो, “यसरी संसद् चलिरहनु र ६ महिनादेखि बन्धक हुनु दुःखद हो, मलाई लज्जाबोध भइरहेका छ, जनताका प्रतिनिधि हामी आउँछौँ, हस्ताक्षर गर्छौं, भत्ता बुझेर हिँड्छौँ, यो राम्रो काम होइन ।” उहाँले अवरोध खुलाउनसमेत प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले परिस्थितिलाई ख्याल गरेर अत्यावश्यक कारबाही चलिरहे पनि प्रतिपक्षी दलको एकतर्फी नाराबाजी उपयुक्त नभएको बताउनुभयो । संविधानको धारा, १०५ अनुसार अदालतको विचाराधीन हुँदाहुँदै संसद्मा उठाउनै नसकिने विषय उठिरहेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । मन्त्री बडूले भन्नुभयो, “सभामुखले प्रमुख प्रतिपक्षी दललाई ध्यानाकर्षण गराइरहनुभएको छ, हामी चाहन्छौँ यो अवस्था अन्त्य होस्, सबैको सहभागितामा जनताको विषयहरुको सम्बोधन होस्, हाम्री आग्रह गरिरहेका छौँ ।”

नेकपा एमालेले प्रतिनिधिसभाका १४ सांसदलाई कारबाहीका लागि निर्णय गरेर पत्र पठाए पनि सभामुखले कारबाही नगरेको भन्दै संसद् अवरोध गर्दै आएको छ ।

सत्तापक्ष गम्भीर भएनः एमाले

नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्ष दल संसद्को ‘वेल’मा गएको विषय सत्तापक्षका लागि गम्भीर विषय नै नभएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले आनन्द मानिरहनुभएको छ, यो विषयमा सत्तापक्ष गम्भीर छैन, हामी बारम्बार भनिरहेका छौँ, हामीले उठाएका विषयमा गम्भीर हुनुप¥यो ।” उहाँले संसद्को अवरोध रहर नभई बाध्यता भएको पनि बताउनुभयो ।

संसद्को नेता भनेको सभामुख अग्निप्रसाद सापकोटा रेफ्री भए पनि उहाँले हाम्रै पोष्टभित्र गोल हानेकाले अप्ठेरो स्थिति सिर्जना भएको नेता नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology