खलङ्गा, २४ फागुन (रासस) : जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् ।
असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भन्नुभयो, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।”
उहाँका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ । कर्णालीका अन्य जिल्लाका दुई हजार ४८ स्याउ किसानले दाबी भुक्तानी पाएको उहाँको भनाइ छ । कर्णालीमा यो वर्ष क्षतिपूर्तिबापत रु चार करोड ४७ लाख दाबी भुक्तानी दिएको सो कम्पनीले जनाएको छ ।
मौसममा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन् । एउटा बिरुवाको रु ४२ मा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ । फागुनदेखि चैत १५ गतेसम्म किसानले बीमा गराई सक्नुपर्नेछ । मौसमी स्याउ बीमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध दिने गरेको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ ।
प्रमुख ऋषिराम पाण्डेका अनुसार कर्णालीमा २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम सुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् । पाँच बिरुवा हुने किसानले रु एक हजार र २५० बिरुवा हुनेले ५० हजार क्षतिपूर्ति पाएको उहाँको भनाइ छ ।
यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् । जुम्लामा वर्षेनी खडेरी र असिना पर्ने भएकाले यसबापत किसानले क्षतिपूर्ति पाइराखेका छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागि परेका हुन् । स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको प्रमुख पाण्डेको भनाइ छ ।
कैदीबन्दीलाई खेलकुद सामग्री वितरण
जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएको छ ।
चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले कैदीबन्दीलाई खेलकुदका सामग्रीसँगै फिल्टर प्रदान गरेकी हुन् । ‘जनतासँग नगरउपप्रमुख कार्यक्रम’अन्तर्गत सो सामग्री उपलब्ध गराएको उपप्रमुख न्यौपानेले बताउनुभयो । कारागारमै पुगेर उपप्रमुख न्यौपानले दुई सेट भलिबल, चार सेट ब्याटमिन्टन र एक सेट क्यारमबोर्ड उपलब्ध गराएकी हुन् ।
शुद्ध र स्वच्छ खानेपानीका लागि पाँचवटा फिल्टरसमेत दिएको चन्दननाथ नगरपालिकाले जनाएको छ । “कारागारभित्र खेलकुद सामग्री र शुद्ध खानेपानीका लागि फिल्टर आवश्यक छ भन्ने माग आएको थियो”, उपप्रमुख न्यौपानेले भन्नुभयो, “मागका आधारमा खेलकुद सामग्री र फिल्टर उपलब्ध गराएपछि यतिखेर कैदीबन्दी निकै उत्साहित भएको छ ।”
जुम्ला कारागारमा ११४ जना कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ । उपप्रमुख न्यौपानेका अनुसार कैदीबन्दीको तत्कालका आवश्यकता त पूर्ति भए । तर यहाँ फर्निचर निर्माण गर्नेदेखि सिलाइ बुनाइ तालिमको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका लागि तीन वटै तहका सरकारको ध्यानजार्नुपर्ने आवश्यकता देखिएको छ । “कारागारभित्र पुस्तकालय छ । तर नयाँ नयाँ पुस्तकको व्यवस्थापन हुन सकेको छैन”, कैदीबन्दी भन्छन्, “कारागारभित्र प्रौढ शिक्षाको समेत आवश्यकता देखिएको छ ।”
