• Wednesday 29th of July 2026

व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैनः गृहमन्त्री खाँण


  • गोकर्णेश्वर अनलाइन

गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताउनुभयो ।

गृहमन्त्री खाँणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको पनि बताउनुभयो । “व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन कानुनअनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ, व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन”, गृहमन्त्री खाँणले भन्नुभयो, “आफ्ना समस्या समाधानमा व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ ।”

उद्योगी व्यवसायीले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानुनअनुरुप व्यवसाय सञ्चालन गरेर सरकारलाई सहयोग गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो । भेटमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे अवगत गराउनुभएको थियो ।

औषधिको मूल्य सात÷आठ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसारपसारमा सुरक्षाकर्मीले धेरै चासो दिएकोबारे उद्योगी व्यवसायीले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाँणले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology