सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन। गोकर्णेश्वर नगरपालिकामा विभिन्न पार्टीको नेताको नाममा खोलिएको संस्थामा लाखौं रकम बाँडिएको तथ्य फेला परेको छ । जनताले तिरेको कर विभिन्न नेताको नाममा खोलिएको फाउन्डेसनलाई अन्धाधुन्ध बाँडिएको छ ।
चुनाव नजिकिँदै गर्दा गोकर्णेश्वर नगरपालिकाको आव २०७८/७९ को सातौं नगरसभाबाट स्वीकृत भएका यथावत योजना तथा कार्यक्रमहरुलाई आठौं नगरसभाबाट हतार हतारमा संशोधन गर्दै नेतालाई खुसी पार्न योजना तथा कार्यक्रमहरु मार्फत करोडौं रकम बाँडिएको छ ।
राष्ट्रकालागि आफ्नो जीवन अर्पण गरेका नेताहरुको नाम बदनाम गर्न विभिन्न फाउन्डेसनमार्फत सरकारले जथाभावी पैसा बाँडेको जनगुनासो सुनिएको बेला गोकर्णेश्वर नगरपालिकामा समेत त्यसको सिको गर्दै जनताले छाक टारेर तिरेको करको दुरुपयोग भएको पाईएको छ ।
गोकर्णेश्वर अनलाइनलाई नगरपालिकाबाट प्राप्त भएको योजना तथा कार्यक्रमहरुको किताबमा विभिन्न संस्थाको नाममा लाखौं पैसा बाँडिएको पाईएको छ ।
हेर्नुस् कुन शिर्षकमा कुन नेताको नाममा कति पैसा बाँडियो :
१)वीपी कोइराला तथा गणेशमान सिंहको लोकतान्त्रिक जीवनी समेटिएको डकुमेन्ट्री निर्माण गर्न ८ लाख
२) स्व चक्रबहादुर ठकुरीको नाममा खोलीएको सि एम पाठशाला स्कुललाई संचालन गर्न १० लाख
३)मदन भण्डारी फाउन्डेसन संचालन तथा व्यवस्थापन अनुदानको लागि १० लाख
४)वडा नम्बर १ कृष्णप्रसाद भट्टराई फाउन्डेसनलाई ५ लाख
५) गणेशमान सिंह फाउन्डेसनको पुस्तक अनुवाद तथा प्रकाशन गर्न र कार्यालय संचालन गर्न ५ लाख
विभिन्न पार्टीको गुटले संचालन गरेको फाउन्डेसनलाई जथाभावी पैसा बाँडफाँड गर्दा समेत प्रतिपक्षी दल चुप रहनुलाई रहस्यमय रुपमा लिन सकिन्छ ।
मेयर सन्तोष चालिसेले आफू विरुद्ध उठ्ने आवाज दबाउन प्रतिपक्षी दल निकटले चलाएको संस्थामा पैसा हालेर मनोमाने गरेको पाईएको छ ।
जनताले आवाज नउठाउँदा यस्ता विकृती झन् बढ्ने देखिन्छ ।
