• Wednesday 29th of July 2026

प्रधानमन्त्री देउवा नयाँदिल्लीमा


  • गोकर्णेश्वर अनलाइन

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज अपराह्न नयाँदिल्ली आइपुग्नु भएको छ । उहाँलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भट, भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा, भारतको बाह्यमामिला मन्त्रालय र यहाँस्थित नेपाली दूतावासका उच्च अधिकृतहरूले स्वागत गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने उहाँ भारतीय जनता पार्टी (भाजपा)को प्रधानकार्यालय पुगेर भाजपा नेताहरूसँग समसामयिक विषयमा विचारविमर्श गर्नुहुनेछ । भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले साँझ यहाँस्थित नेपाली दूतावासमा आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।

भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुंहुने छ भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology