• Wednesday 29th of July 2026

प्रतिगमनविरुद्धको खबरदारी जारी : प्रचण्ड


  • गोकर्णेश्वर अनलाइन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उहाँले बताउनुभयो ।

बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।” आसन्न स्थानीयतह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले विगतमा आफू नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गर्नुभयो । रु पाँच करोड ५० लाख लागतको ४० कोठे र रु चार करोड ८३ लाख लागतको २१ कोेठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका तयार भएका छन् । अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच उद्घाटन गर्नु भएको हो ।

“अब यो शिक्षालय मुलुकभरि दक्ष प्राविधिकको परिपूर्ति गर्ने मुलुककै एउटा खास गन्तव्य बन्दैछ”, उहाँले भन्नुभयो, “यहाँको शैक्षिक उत्पादनले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गर्न सकिन्छ ।”

नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । शिक्षालयले शिभिल इञ्जिनियरिङ, जोमेट्रिक इन्जिनियरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ । यसैअनुरुप सिरहाको धनगढीस्थित सामुदायिक विद्यालयले प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठन सुरु गरेको छ ।

बर्दिबास–११ को खयरमारास्थित चनौटेमा अध्यक्ष प्रचण्डले आज नै शहीद पार्क निर्माण कार्यको शिलान्यास गर्नुभयो । बर्दिबास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology