• Saturday 25th of July 2026

मुख्यमन्त्रीद्वारा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतको टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ गर्नुभएको छ ।

प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पोखरा महानगरपालिका–१२ स्थित अमरसिँह उच्च माध्यमिक विद्यालयमा आयोजना गरेको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुभारम्भ कार्यक्रममा ‘भ्याक्सिन क्यारियर’ स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर उहाँले प्रदेशका ११ वटै जिल्लामा अभियान सुरु भएको घोषणा गर्नुभयो ।

जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्ध खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा देशभर चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एकैपटक खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ । अभियानमा गण्डकी प्रदेशका पाँच लाख ६० हजार बालबालिकालाई खोप दिइने प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा श्रीराम तिवारीले बताउनुभयो । उहाँका अनुसार आज शुभारम्भका दिन अमरसिँह माध्यमिक विद्यालयका विद्यार्थीलाई खोप दिइने र भोलिदेखि प्रदेशका सबै विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

उहाँले भन्नुभयो, “प्रदेशका ११ वटै जिल्लामा तोकिएका खोप केन्द्रमा खोप, भ्याक्सिनेटर र आवश्यक जनशक्ति पु-याइसकेका छौँ । भोलिदेखि सबै जिल्लाका खोप केन्द्रमा खोप लगाउन सुरु हुन्छ ।” खोप लगाउनुपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र तोकिएको र विद्यालय नजानेहरुका लागि वडा कार्यालयमा खोप लगाउने व्यवस्था मिलाइएको डा तिवारीको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले निर्धारित समयभित्रमा लक्षित समूहलाई खोप लगाइ सकेर अभियान पूर्ण सफल हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण सफल बनाउनका लागि कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “ सरकारले कल्याणकारी राज्यको भूमिका निर्वाह गर्न सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र पूर्ण रुपमा सफल हुन्छ ।”

छोटो समयमा निःशुल्क रगत दिने लगायतका लोकप्रिय कार्यक्रम ल्याएकोमा स्वास्थ्य मन्त्रालयलाई धन्यवादसमेत उहाँले दिनुभयो ।

स्वास्थ्यमन्त्री मधु अधिकारीले प्रदेशमा खोप अभियानलाई पूर्ण रुपमा सम्पन्न गर्नका लागि मन्त्रालयले आवश्यक सबै सहयोग उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टाइफाइडविरुद्धको खोप एक भायलमा पाँच मात्रा रहेको, रङ्गविहीन तयारी झोलका रुपमा रहेको र एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने स्वास्थ्यकर्मीको भनाइ छ । टाइफाइड खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बताइन्छ ।

विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजार जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । नेपालमा भने प्रति एक लाखमा एक हजार ६२ जनामा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रति एक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ ।

टाइफाइड सबै उमेर समूहमा हुनसक्ने भए पनि १५ वर्षमुनिका बालबालिकामा अन्य उमेर समूहमा भन्दा ११ गुणा बढी सङ्क्रमणको जोखिम रहने र यस रोगको खोप सुरु भएपछि रोगबाट हुने सङ्क्रमणमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology