• Saturday 25th of July 2026

आँपमा मधुवाले सताएकाले किसान हैरान


  • गोकर्णेश्वर अनलाइन

महोत्तरी, २७ चैत (रासस) : पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर ९मञ्जरी, पूmल० ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग पर्नुभएका भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा (आँपको मज्जरमा लाग्ने रोग) का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी लागेको पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेकाले उहाँको खुसी हराएको हो ।

महतोजस्तै सोही बस्तीका बासु बराल, गुणराज दाहाल, सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले भुसुक्कै पारेकाले पिरोलिनुभएको छ । “फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौँ”, फलफूल किसान हरिदेव साहले भन्नुभयो, “राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरनै डढ्यो ।”मधुवाको प्रकोपले व्यावसायिकरुपमै फलपूmलखेती गर्ने यहाँका किसान निरास भएका छन् । फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा रोगको प्रकोपले चिन्ता बढाएको हो ।

“खै केही वर्ष पहिले त फलफूलखेती हेर्ने जेटिए बाबु (कृषि सहायक, कृषि प्राविधिक) आएर यस्तो गर्नोस् भनेर परामर्श दिन्थे”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका फलपूmल किसान विनोद महतोले भन्नुभयो, “अचेल त केही वर्षयता कोही पनि सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ।” समयसमयमा कृषि परामर्श नपाउँदा पनि आफूहरु पछि परेको फलफूल किसानको गुनासो थियो । जिल्लाको बर्दिबास, गौशाला, भङ्गाहा र जलेश्वर नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरुपमै आँप बगैँचा लगाइएको छ । सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि लागेका केही टिकोला पनि चाउरिएर नबढेको पीडित किसानले बताए ।

“यसपालि आँपबाट आम्दानी लिने आस म-यो”, मधुवाले डढाएर कालो बनाएको मज्जरतिर देखाउँदै पशुपतिनगरकै अर्का फलफूल किसान सुरजसिंह कुशवाहाले भन्नुभयो । उहाँकोे दुई बिघा जमिनमा आँप बगैँचामा २० प्रतिशत रुखमा मात्र चिचिला रहेको बुशवाहाको भनाइ थियो ।

आँपमा चिचिला खेल्ने समय चैत पहिलो सातामै मज्जरमा मधुवा लागेर कालो बनाएको छ । चैत सुरु भएसँगै मधुवाले आँपका मज्जर डढाएर कालो बनाएको गौशाला–८ बेलगाछीका किसान लालदेव महतोले बताउनुभयो । आफ्नो बारीका ६० रुख आँपमध्ये आधाभन्दा बढी रुखको मज्जर मधुवाले डढाएको उहाँको गुनासो थियो । “मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन”, महतोले आफ्नो आँप बगैंचामै पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “तर सघन उपचार बढाइएपछि थप रुखमा भने मधुवा लागेको छैन ।”

यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो मज्जर लागे पनि सबैतिर मधुवाको प्रकोप पनि फैलिएको छ । “पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो”, जलेश्वर–५ चौडियाका किसान रहिमन मण्डलले भन्नुभयो, “त्यसपछि एकपछि अर्को उपचार चलाइए पनि पूर्ण नियन्त्रण हुन सकेन ।”

आँपमा मधुुवाले गाँजेपछि यसपाली आँपको उत्पादन घट्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन् । “आँप प्रचुर फल्दा सस्तो हुने र गरिबले पनि आफ्नो आयस्ताअनुसार खान पाउँथे”, बर्दिबास–१ का होटल व्यवसायी दिपेन्द्र पराजुलीले भन्नुभयो,, “यसपाली भने मधुवाले मज्जर नै डढाएपछि उत्पादन कम हुनेहुँदा गरिब उपभोक्ताले आँप खान पाउँने छैनन् ।”यता फलपूmल विज्ञले भने मज्जर खेल्नासाथै उपचार नगरिदा मधुवाको प्रकोप बढेको बताउनुभयो । समयमै उपचार नगरिँदा मधुवाको प्रकोप बढेको भङ्गाहा–६ सग्रामपुर निवासी पूर्वकृषि विज्ञ राजकिशोर यादवको भनाइ थियो । लगातार सघन उपचार गरिँदै लगिए रुखका टिकोला अडाउन सकिने उहाँको सुझाव थियो ।

यसैगरी आँपमा पूmल खेल्न थालेकै बेला उपचार नगर्दा मधुवा लागेको अर्का फलपूmल विज्ञ ज्ञानेन्द्र सिंह कुशवाहाको भनाइ थियो । आँपको रुखको जरा वरपर खनेर सिँचाइ गर्नाका साथै फेदमा चुन दल्नेजस्ता प्राकृतिक उपचारले मधुवा रोक्न सकिने उहाँको सुझव थियो । मधुवा लागिसकेपछि भने मज्जर बचाउन विषादिको प्रयोग गर्नुपर्नेमा कुशवाहाले जोड दिनुभयो ।

लगातार फूलमा पानी छर्किएसँगै जरामा पर्याप्त सिँचाइ गरिए मधुवा नलाग्ने र पूmलमा दाना राम्रो लाग्ने फलफूल विज्ञको सुझाव थियो । यसपाली हिउँदमा राम्रो पानी नपरेको र किसानले आँपको जरा वरिपरि खनेर किरा मार्ने उपचार नगर्दा मधुवाले पिरोलेको कृषि सेवाकै अवकाशप्राप्च सहसचिव भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको भनाइ थियो । जिल्लामा १० हजार हेक्टर जग्गामा व्यावसायिकरुपमै आँपखेती रहेको स्थानीय तहको तथ्याङ्कले देखाएको छ । पछिल्ला केही वर्षयता गाउँघरमा कृषि कामदार पाउन छाडिएपछि अन्य खेती गर्न छाडेर फलफूल लगाउने क्रम ह्वात्तै बढ्दै गएको छ । खेती बढेसँगै राज्यपक्षबाट समुचित सेवा, सुविधा भने नबढ्दा आपूmहरुको ब्यथा जहाँको त्यहीँ रहेको आम किसानको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology