• Saturday 25th of July 2026

सफल बन्दै महिलाहरूको सामूहिक तरकारी खेती


  • गोकर्णेश्वर अनलाइन

गलकोट, १ वैशाख (रासस) : केही वर्षसम्म घरधन्दामा सीमित गलकोट दुदिलाभाटीका महिला अहिले सामूहिक कृषिखेतीमा अग्रसर भएका छन् । श्रीमान्को कमाइमा निर्भर बन्दै आएका महिलाले अहिले धेरथोर रकम कमाएर घर खर्च चलाउन सफल भएका छन् ।

दुई वर्षअघिदेखि गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरेमा आठ रोपनी जग्गा भाडामा लिएर त्यहाँका १० महिला मिलेर सामूहिक खेती सुरु गरेका थिए । गाउँमा धेरथोर निर्वाहमुखी खेती गर्दै आएका महिलाले सामूहिकरूपमा कृषिखेती गर्न थालेपछि आयआर्जनमा वृद्धि भएका मात्रै छैन, यहाँका महिला व्यावसायिक बनेका छन् ।

विसं २०७६ मा मेलमिलाप एकीकृत कृषक समूह गठन गरी यहाँका महिलाले सामूहिक कृषिखेती थालेका थिए । सामूहिकरूपमा गरिएको कृषिखेतीले सफलता पाउँदै गएपछि महिलाले आधा समय सामूहिक खेती र आधा समय आफ्नो व्यक्तिगत तरकारी खेतीमा समय दिन थालेको मेलमिलाप एकीकृत कृषक समूहका अध्यक्ष सुमित्रा कार्कीले बताउनुभयो । अहिले सामूहिकरूपमा च्याउखेती, काउली, बन्दा, टमाटरलगायतका मौसमी तथा बेमौसमी तरकारी समूहले उत्पादन गर्दै आएको छ ।

“हामीले पहिला घरधन्दामात्रै गर्ने गरेका थियौँ, पछि सामूहिकरूपमा गाउँमा बाँझो भएको बारीलाई भाडामा लिएर खेती थालेका थियौँ”, उहाँले भन्नुभयो, “दश महिलाले हप्तामा अनिवार्य दुई दिन सामूहिक कृषिखेतीमा काम गर्नुपर्ने नियम छ, अघिपछि कामको अवस्था हेरेर हुन्छ, आम्दानी वार्षिकरूपमा खर्च कटाएर बाँड्ने भनेका छौँ, अहिलेसम्म आम्दानीलाई लगानी गर्दै आएका छौँ, सुरुमा रु एक लाख २० हजारबाट सुरु भएको व्यावसायिक कृषिखेतीमा अहिले रु १८ लाख लगानी पु-याइसकेका छौँ ।”

सामूहिक कृषिखेतीमा रैथाने बाली संरक्षणका लागि कोदोसमेत उत्पादन गर्दै आएको कार्कीको भनाइ छ । वार्षिक १८ हजार भाडा तिरेर आठ रोपनी जग्गामा गरेको सामूहिक तरकारी खेती विस्तारै सफल हुँदै गइएपछि यहाँका महिला विस्तारै जागरुक भएका छन् । यहाँका महिलाले सामूहिक खेतीसँगै व्यक्तिगतरूपमा समेत व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सामूहिक खेतीले महिलामा कृषिखेतीप्रतिको सोच नै बदेलेको कार्कीको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका श्रीमतीहरूले राम्रो कमाइसमेत गर्न थालेपछि श्रीमान्हरूले समेत तरकारी खेतीलाई साथ दिएका छन् । यहाँका महिलाको व्यक्तिगत अलैँची खेतीसमेत रहेको छ । पहिला झार उम्रिएको पाखोमा अलैँचीले राम्रो आम्दानी दिन थालेको महिला बताउँछन् । सामूहिक खेतीमा सहभागीमध्ये चार महिलाले व्यक्तिगतरूपमा फार्मसमेत दर्ता गरेर मनग्य आम्दानी गर्दै आएको समूहका कोषाध्यक्ष कल्पना गुरुङले बताउनुभयो ।

समूहको सातवटा प्लाष्टिक टनेल र आठवटा व्यक्तिगतरूपमा प्लाष्टिक टनेलमा व्यावसायिक तरकारी खेती गरिरहेको महिलाहरूले जनाएका छन् । उनीहरूले सामूहिकरूपमा विसं २०७६ मा सुरुआती भएको र गत वर्षबाट मुनाफा हुन थालेको अध्यक्ष कार्कीले बताउनुभयो । उहाँले गत वर्ष दुई लाख आम्दानी भएको र अहिले तरकारी खेती तथा टनेल विस्तार भइरहेका कारण आम्दनी निकै बढेर जाने बताउनुभयो ।

कार्कीका अनुसार गत वर्ष कृषि ज्ञान केन्द्र बागलुङले नौ लाख अनुदान दिएको र त्यसबाट टनेल तथा तरकारी खेती विस्तारका लागि पूर्वाधार र उपकरण खरिद गरिएको भन्दै सामूहिक र व्यक्तिगत खेतीबाट महिलाहरूले मनग्य आम्दानी गर्न थालेको बताउनुभयो । “सामूहिक खेतीका कारण सिक्ने मौका मिल्यो, तालिममा जान सहज भयो, सङ्गठित हुनाले अनुदान आयो । फलस्वरुप व्यक्तिगतरूपमा खेती गर्नसमेत सहयोग मिल्यो, अहिले यहाँका महिलाले व्यक्तिगत र सामूहिक खेती गर्नमै व्यस्त भएका छन् भने विदेश गएका र जान खोजेका श्रीमान्हरूले श्रीमतीको तरकारी खेतीलाई सहयोग गर्दै आएका छन्”, कार्कीले भन्नुभयो ।

समूहमा आबद्ध महिलाको सबैको चारदेखि १० रोपनी क्षेत्रफलमा अलैँची खेती तथा न्यूनतम दुई रोपनी जग्गामा तरकारी खेतीसमेत रहेको छ । समूहमा मिलेर काम गर्ने, ज्ञान आर्जन गर्ने र त्यसलाई व्यावहारिकरूपमा प्रयोगमा ल्याउँदा यहाँका १० महिलाले व्यावसायिक तरकारी खेतीमा राम्रो भविष्य देखेका छन् । उनीहरुले समूहमा आबद्ध नभएको भए अहिले व्यावसायिक सोच नआउने बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology