• Wednesday 29th of July 2026

स्थानीय तह निर्वाचन : धनुषामा तयारी तीव्र


  • गोकर्णेश्वर अनलाइन

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ । निर्वाचन आयोगको क्यालेण्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

धनुषाको १८वटै पालिकामा खटिने निर्वाचन अधिकृतको तालिम सकिएको र वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तयारी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो । स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।

निर्वाचनमा खटाइने कर्मचारीको विवरण अद्यावद्यिक गर्ने कार्य अन्तिम चरणमा पुगेको र अद्यावधिक सकिएलगत्तैबाट कर्मचारीलाई मतदान केन्द्रमा पठाइने पन्थीले बताउनुभयो । मतपेटिकाको जाँच गर्ने, सफा गर्ने काम सकिएको छ भने स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइने निर्वाचन सामग्री प्याकिङको काम भइरहेको कार्यालयले जनाएको छ । समयमा बजेट नपाउँदा निर्वाचन कार्यालयले यस वर्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

“बजेट नआउँदा मतदाता शिक्षा सञ्चालन गर्न सकिएको छैन”, पन्थीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा समयमै कार्यक्रम सञ्चालनका लागि बजेट आउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ, यसपालि अहिलेसम्म बजेट आएको छैन, त्यही भएर अहिलेसम्म मतदाता शिक्षा कार्यक्रम चलाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।

दुई दिनअघि मात्र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका आएकाले अब बजेट पनि आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ मा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचत शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यस्तै स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग, नागरिक समाज तथा गैरसरकारी संस्थामार्फत निर्वाचन कार्यक्रम सञ्चालन गर्ने, सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा आम पहुँच वा समुदायमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ । अठार स्थानीय तह रहेको धनुषामा कूल चार लाख ६७ हजार ३८८ मतदाता छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ३२३ मतदानस्थलमा ५९६ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology