• Saturday 25th of July 2026

पाल्पामा चार हजार एक सय परिवार कृषकको गणना हुँदै


  • गोकर्णेश्वर अनलाइन

यसपटक पाल्पा जिल्लाका चार हजार १०० परिवार कृषकको कृषि गणना कार्य गरिँदैछ । जिल्लामा १६४ क्षेत्रमा गरिने गणनामा ६१ गणक र १६ जना सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेका छन् । दश पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गरिँदैछ ।

रामपुर नगरपालिकामा २०, निस्दी, माथागढी गाउँपालिकामा १७÷१७, तिनाउ, पूर्वखोला, रम्भा, रिब्दीकोटमा १५÷१५, रैनादेवी छहरामा १८, तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा १६÷१६ गणना क्षेत्र तोकिएको जिल्ला कृषि गणना अधिकृत भविश्वर घिमिरेले जानकारी दिनुभयो ।

गणनाका लागि गणक र सुपरीवेक्षकलाई तालिम दिइसकिएको सहायक जिल्ला कृषि गणना अधिकृत लेखनाथ पाण्डेले बताउनुभयो । तथ्याङ्क सङ्कलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय तोकिएको छ । प्रत्येक पालिकामा छदेखि सात जना गणक र एकदेखि दुई जना सुपेरीवेक्षक खटाइएको छ ।

वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने कृषि गणना स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तवार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ ।

गणकले सङ्कटमा रैथाने पशुपक्षीको तथ्याङ्क, सम्पूर्ण बाली, माछा, पशुपक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गर्नेछन् । राष्ट्रिय जनगणना सुरु भएको छ महिनापछि हुन लागेको यस कृषि गणनामा कृषकलाई मुख्य २४ प्रश्न सोधिनेछ ।

यस वर्षको कृषि गणनामा पारिवारिक, व्यावसायिक, तथा संस्थागतरुपमा बाँझो जमिनको तथ्याङ्क सङ्कलन गरिनेछ । किसानको सङ्ख्या, पशुपक्षीको गणना, कृषि ऋण, कृषि मजदुर, कृषिमा महिलाको सहभागिता, सिँचाइ, अनुदान लिने किसानको सङ्ख्या, कृषि औजारको प्रयोग, कृषिमा यान्त्रिकीकरण, कृषि बिमा, रासायनिक मल, उन्नत बीउबिजनको प्रयोग आदिका बारेमा तथ्याङ्क बाहिर आउने भएको छ । अहिलेको गणनामा गणनाको एकाइ कृषि चलनलाई लिइएको छ ।

हिमाल र पहाडका जिल्लामा भए कम्तीमा चार आना र तराईका जिल्लामा भए कम्तीमा आठ धुर क्षेत्रफलमा बाली लगाएको भएमा मात्र कृषि गणना हुने जिल्ला कृषि गणना कार्यालयले जनाएको छ । तथ्याङ्क विभागले प्रत्येक १०÷१० वर्षमा कृषि गणना गर्दै आएको छ । यसअघि विसं २०६८ मा कृषि गणना गरिएको थियो । नेपालमा पहिलो कृषि गणना विसं २०१८ मा भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology