• Wednesday 29th of July 2026

कास्कीमा भयरहित निर्वाचनका लागि गृहकार्य सुरु


  • गोकर्णेश्वर अनलाइन

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले भयरहित, निष्पक्ष चुनावका लागि आवश्यक गृहकार्यको प्रक्रियालाई अगाडि बढाएको जनाएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी जयराम आर्चायको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ तयारीका आवश्यक गृहकार्य अगाडि बढाएको कास्कीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका लागि चैत २५ गते रातिबाट निर्वाचन आचारसंहिता लागू भए पश्चात् चुनाव केन्द्रित गतिविधिलाई मध्यनजर गरेर आवश्यक गृहकार्य गरेका छौँ, कास्कीका चार गाउँपालिकामा सशस्त्र प्रहरी बलको तीन वटा मोबाइल गस्ती हुनेछ भने ३० मिनेटमा सबै मतदान केन्द्रमा पुग्ने गरी सेना तैनाथ हुनेछन् ।”

उहाँका अनुसार कास्कीमा १५० मतदानस्थल र ३३६ मतदान केन्द्र रहने छन् । मतदान केन्द्रमा अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर कमाण्ड पोष्ट तयार गरिएको छ । त्यसैगरी आज बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखरा उपत्यका नगरविकास समितिमा रहने गरी कार्यालयको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

सो कार्यालयको कास्की जिल्ला अदालतका न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइले उद्घाटन गर्नुभयो । कार्यालय स्थापनासँगै निर्वाचनलाई भयरहित स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सहज भएको र अब निर्वाचन तालिका अनुसार कार्यक्रम अघि बढ्ने मुख्य निर्वाचन अधिकृत भट्टराइले जानकारी दिनुभयो ।

त्यसैगरी कास्कीका ४ गाउँपालिकामा पनि आज नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कास्कीमा दुई लाख ८१ हजार ८३३ मतदाता छन् । तीमध्ये एक लाख ३३ हजार ७४२ पुरुष र एक लाख ४८ हजार ८७ महिला रहेका छन् । तेस्रो लिङ्गीको सङ्ख्या भने चार रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अघिल्लो स्थानीय तहको चुनावको तुलनामा अहिले कास्कीमा ५७ हजार २२ मतदाता थपिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपाने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology