• Monday 27th of July 2026

गठबन्धन टुटाउने षड्यन्त्र भएको छ : प्रधानमन्त्री देउवा


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले षड्यन्त्र हुन नदिन गठबन्धनका पक्षमा जुट्न आग्रह गर्नुभयो ।

गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरुको पनि खत्तम हुन्छ । कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका प्रमुख पदका उम्मेदवार रेनु दाहालले यस अघिका कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै गठबन्धनका पक्षमा लाग्न उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँलाई जिताउनुहोस्, १०÷२० वर्ष गठबन्धन टिक्छ ।” सभापति देउवाले थप्नुभयो, “उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरुले बखेडा गर्नु आवश्यक छैन ।”

आफूले पार्टीमा ८२ प्रतिशत मत लिएर सभापति जितेको भन्दै उहाँले भन्नुभयो, “यो मत जनप्रतिनिधिको मत हो । नेपाली जनताले गठबन्धनप्रति समर्थन भएर मैले जितेको हुँ । होइन भने मैले कहाँ जित्थे ।” उहाँले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “जनताले चुनेर आएका पार्टीका साथीहरुको भोटले पार्टी सभापति भएको हुँ ।”

उहाँले भन्नुभयो, “नेपाली जनता र तिनका प्रतिनिधिले दुई तिहाईभन्दा बढी भोटले जिताउनुभयो । यो स्पष्ट हुन्छ, नेपाली जनता गठबन्धनप्रति विश्वस्त भएर मैले जितेको हुँ ।” सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । उहाँले जोड दिँदै भन्नुभयो, “चितवनका साथीहरुको कर्तव्य छ । रेनु दाहाललाई सहयोग गर्नुपर्छ ।” भरतपुरको विकास भएको भन्दै उहाँले भन्नुभयो, “ठाउँठाउँमा कालोपत्रे भएको छ । यहाँको भाउ बढेको छ । स्मार्टसिटी बनाउने भन्नुभएको छ ?”

भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उहाँले विकासप्रेमी नेतालाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भरतपुर महत्वपूर्ण ठाउँ बन्ने छ । संसारका पर्यटक आउनेछन् । क्रिकट हेर्न संसारभरिका मानिस आउँछन् । काम गर्ने मान्छे नभए को हुन्छ ?” भरतपुर महानगरमा दाहालको नेतृत्वको जनप्रतिनिधिले बेरुजु शून्य बनाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology