• Monday 27th of July 2026

जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने बताउनुभएको हो ।

“नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी हो, पाँचवर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनतमको अपमान गरेको छ, कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,”–उहाँले भन्नुभयो । महामन्त्री थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरमासमेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौँको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो ।

“पाँच वर्षमा काठमाडौँ महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,”– उहाँले भन्नुभयो । उहाँले एक पटक कांग्रेसलाई अवसर दिनसमेत आम काठमाडौँका मतदातासँग आग्रह गर्नुभयो ।

गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौँ महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताउँदै काठमाडौँको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
“म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौँ महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाइँको मतको अपमान हुन दिन्न,”– उहाँले भन्नुभयो । टोलबासीको सुख दुःखमा आफू लाग्नेसमेत उहाँको भनाइ छ ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताउनुभयो । कांग्रेस काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार मुकुन्द रिजालले काठमाडौँको विकासका लागि कांग्रेसले महिला उम्मेदवारलाई अगाडि सारेको बताउनुभयो । “सिर्जना सिंह पार्टीको मात्र उम्मेदवार होइन, आम कार्यकर्ताकोसमेत उम्मेदवार हुनुहुन्छ,”– उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology