• Monday 27th of July 2026

सिरहाका ११ स्थानीय तहको नतिजा सार्वजनिक


  • गोकर्णेश्वर अनलाइन

यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।

पछिल्लोपटक सार्वजनिक भएको स्थानीय तहमध्ये तीनमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् भने एउटामा कांग्रेसले जितेको छ । यससँगै हालसम्म एमालेले सिरहामा जितेका स्थानीय तहको सङ्ख्या सात पुगेको छ । जसपाले दुई तथा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले एक–एक स्थानीय तहमा जित निकालेको छ ।

आज सार्वजनिक अन्तिम मत परिणामअनुसार लहान नगरपालिका प्रमुखमा कांग्रेसका महेशप्रसाद चौधरी र उपप्रमुखमा जसपाका रामचलितर महतो विजयी हुनुभएको छ । चौधरीले २० हजार १०५ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मुनी साहले ११ हजार ९६६ मत ल्याउनुभयो ।

यस्तै उपप्रमुखमा निर्वाचित महतोले १२ हजार ५६९ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपप्रमुख एमालेका सरियारदेवी चौधरीले ११ हजार ७९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिनुभयो । यस्तै कल्याणपुर नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित एमालेका रामपुकार साहले पाँच हजार ८८३ मत प्राप्त गरेर विजयी हँुदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले जानकारी दिनुभयो ।

उपप्रमुखमा निर्वाचित एमालेकै रेखाकुमारी यादवले पाँच हजार ७३३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत प्राप्त गर्नुभयो । धनगढीमाई नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

नगर प्रमुखमा एमालेका शिवशङ्कर महतो सात हजार ५६ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादवले छ हजार ९०१ मत प्राप्त गर्नुभयो भने निवर्तमान नगरप्रमुख माओवादी केन्द्रका हरिनारायण चौधरीले चार हजार ३६९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुखमा कांग्रेसका सङ्गीताकुमारी चौधरीले छ हजार ६१३ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका शोभाकुमारी बरालले छ हजार ३७८ मत प्राप्त गर्नुभयो । त्यस्तै सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका रामप्रमोद यादव र उपाध्यक्षमा उपाध्यक्षमा एमालेकै गुलाबदेवी चौधरी विजयी हुनुभएको छ ।

अध्यक्षमा दुई हजार ६९५ मतका साथ यादव विजयी हँुदा उहाँका निकटतम् प्रतिद्वन्द्वी जसपाका रामस्वगारथ यादवले दुई हजार ५१७ मत ल्याउनुभयो । उपाध्यक्षमा निर्वाचत एमालेका चौधरीले दुई हजार ५७१ मतका साथ विजयी हँुदा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अरहुलियादेवी यादवले दुई हजार ३२३ मत प्राप्त गर्नुभयो ।

यसअघि सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका, भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् भने सिरहाको नवराजपुर र अर्नमा गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष जसपाले जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्ष जितेको छ । सिरहाको मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको मतगणना भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology