• Saturday 25th of July 2026

खेती गर्ने समयमा हुने मलको अभावले कृषक समस्यामा


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम, २० जेठ (रासस): खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको छ । धान खेतीका लागि यतिबेला खेत खनजोत गरिरहेका कैलाली लगायतका जिल्लाका किसान रासायनिक मलको अभाव हुँदा चिन्तामा छन् ।

रासायनिक मल, भरपर्दो सिँचाई, र उन्नत बीउको सहज उपलब्धता नहुँदा कृषि उत्पादनमा ह्रास आउने कृषकको भनाइ छ । धान खेती गर्ने समयमा देखिने रासायनिक मलको अभावले खेती कसरी गर्ने भन्ने समस्या आएको गुनासो उनीहरुको छ । ‘‘एकातिर सरकारले कृषिको उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिएका छौं भन्छ तर अर्को तर्फ कृषकलाई चाहिने मल समयमै उपलब्ध गराउन नसक्दा सरकारले कृषिमा दिएको प्राथमिकता नारामै सीमित बन्न पुगेको छ ।’’स्थानीय किसान टेकराज भट्टले भन्नुभयो ।

रोपाइँ गर्ने समय आउन लाग्दा सरकारको अनुदानको मल बिक्री वितरण गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीमा कैलाली जिल्लाका लागि डिएपी र युरिया मलको मौज्दात छैन ।
एक पटक रासायनिक मल प्रयोग गरिसकेको खेतमा अर्को पटक रासायनिक मल प्रयोग नगर्दा धान, गहुँ लगायतका बालीको उत्पादकत्व निकै कम हुने गरेकोले खेती गर्दा यो मल प्रयोग गर्नै पर्ने वाध्यता रहेको कृषकको अनुभव छ । व्यवसायीले ढुवानी गर्नुपर्ने परिणामको मल यस अघि नै ढुवानी गरिसकेकोले सुदूरपश्चिम प्रदेशका लागि छुट्याइएको थप मल ढुवानीकर्ता व्यवसायी मार्फत् आउन नसकिरहेको कृषि सामग्री कम्पनी लिमिटेड कार्यालयका प्रमुख नबलसिंह बोगटीले बताउनुभयो ।

बोगटीले भन्नुभयो ‘‘व्यवसायीले मल ढुवानी गर्न नमानेपछि सहकारी संस्थाका प्रतिनिधि आफै भैरहवा स्थित कृषि सामग्रीको कार्यालयमा पुगेर मल ल्याउने पहल थालेका छन् ।’’ कृषि सहकारी संस्था मार्फत् सरकारी अनुदानकोे रासायनिक मल कृषकलाई बिक्री वितरण हुने गरेको छ । कृषि सामग्रीको धनगढी स्थित कार्यालयमा युरिया मलको मौज्दात शून्य छ । पहाडी जिल्लाका लागि छुट्याइएको ५२ टन डिएपी मल मात्रै मौज्दात छ । धान र गहुँवालीमा तुलनात्मक रुपमा कम प्रयोग हुने पोटाँस २३३ मेट्रिक टन मौज्दात छ ।

भैरहवामा हालै पुगेको सात हजार मेट्रिक टन डिएपी मल मध्ये सुदूरपश्चिम प्रदेशका लागि दुई हजार १६९ मेट्रिक टन छुट्याइएको छ । यो मध्ये डोटीका लागि ८०, कैलालीका लागि एक हजार ३७८ र १११ मे टन अन्य पहाडी जिल्लाका लागि छुट्याइएको जनाइएको छ ।
‘‘सुदूरपश्चिमका लागि छुट्याइएको यो कोटा निकै कम हो,’’बोगटीले भन्नु भया,े ‘‘वर्ष भरिमा धान र गहुँ बालीका लागि मात्रै प्रदेशमा ५० हजार मे टन भन्दा बढी मलको आवश्यकता पर्छ ।’’
किसान भट्टले भन्नु भयो, ‘‘धान रोपेको दिन नै खेतमा डिएपी प्रयोग गर्नु पर्ने हुन्छ, तर सहकारी संस्था र कृषि सामग्रीमा मल नभएपछि रोपाइँ कसरी गर्ने भन्ने चिन्ता लागेको छ ।’’

आफै मल ढुवानी गरेर ल्याउने सहकारी संस्थाको लागि कृषि सामग्रीको धनगढी कार्यालयले सिफारिश पत्र बनाइदिने गरेको छ । कृषि सामग्री कम्पनी लि. प्रादेशिक कार्यालय धनगढीले चालू आर्थिक वर्षको गत साउन देखि हालसम्म युरिया छ हजार ७४१ मे टन र डिएपी दुई हजार २४१ मेट्रिक टन र पोटाँस १६४मेट्रिक टन बिक्री वितरण गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कार्यालयले यो परिमाण भन्दा बढी मल विक्री गरेको थियो । प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology