• Saturday 25th of July 2026

त्रियुगाका किसानलाई आधुनिक बीउ


  • गोकर्णेश्वर अनलाइन

त्रियुगा नगरपालिका क्षेत्रमा अधिक धान उत्पादन गरेर किसानलाई आत्मनिर्भर बनाउन नगरपालिकाले जेठको दोस्रो हप्तादेखि आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएको छ ।नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका धान उत्पादक किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक धानको बीउ उपलब्ध गराएको हो ।
शाखाका प्रमुख माधव राउतका अनुसार अहिलेसम्म झण्डै आठ टन धानको बीउ वितरण गरिसकिएको र अझै पनि वितरण जारी छ किसानलाई वितरण गरिएका बीउमा राधा, सवरसव, रञ्जीत, रातो बासमती, रामधानलगायत आधुनिक धानको बीउ रहेको उहाँले जानकारी दिनुभयो । आधुनिक धानको बीउ हरेक वर्ष वितरण गरिँदै आइएकाले नगरका किसानले धान उत्पादन पनि वृद्धि गर्दै लगेका छन् ।

नगरपालिकाको असारी, पोर्ताहा, जोगिदह र लक्ष्मीपुर क्षेत्रमा बढी लल्काबासमती र रामधान उत्पादन हुने गरेको कारण आफूहरुले सोही धान नै बढी लगाउने गरेको पोर्ताहका किसान देवलाल चौधरीले बताउनुभयो ।नगरको चुहाडे, राजाबास, गैरुन, गाईघाट, भुल्के र बगाहा, श्रीपुर क्षेत्रमा बढी मात्रमा रञ्जीत धान र रामधान तथा बासमती धान उत्पादन भएको त्यस क्षेत्रका किसानले बताए । आधुनिक धानको बीउ अनुदानमा वितरण गर्दै आएकाले झण्डै २५ प्रतिशत धान उत्पादन बढेको किसान हरेराम चौधरी र कर्णबहादुर खड्काले बताउनुभयो ।

उहाँहरुले भन्नुभयो, “दुई वर्षअघि आफूहरुले दश–दशकठ्ठा जग्गामा परीक्षणको रुपमा राम धान र रञ्जीत धान लगायौँ, प्रतिकठ्ठा तीन मनसम्म धान उत्पादन हुने जग्गामा नयाँ बीउ लगाएपछि प्रतिकठ्ठा चार मनदेखि पाँच मनसम्म धान उत्पादन हुन थाल्यो ।”आधुनिक धानको बीउ प्रयोगसँगै किसानले धान उत्पादनमा वृद्धि गर्न थालेपछि किसानबाटै आधुनिक धानका बीउको माग पनि बढ्दै जान थालेको कृषि शाखाले जनायो।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology