• Saturday 25th of July 2026

थप ४३ मा कोरोना सङ्क्रमण पुष्टि


  • गोकर्णेश्वर अनलाइन

देशभर पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ५५५ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५२ को पिसीआर र एक हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३५६ पुगेको छ । निको हुनेदर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८१ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १७७, संस्थागत आइसोलेशनमा चार, आइसीयूमा दुई र भेन्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरू कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, इलाम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवान, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासीपूर्व, रुकुमपूर्व, रुपन्देही, दाङ, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुमपश्चिम, कालिकोट, बाजुरा, दार्चुला, बझाङ, डढेलधुरा र कञ्चनपुर रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ६२ र ललितपुर ३० र भक्तपुरमा आठ गरी उपत्यकामा १०० जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology