• Monday 27th of July 2026

जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख


  • गोकर्णेश्वर अनलाइन

सभामुख अग्निप्रसाद सापकोटाले जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन आफ्नातर्फबाट निरन्तर प्रयास भइरहेको बताउनुभएको छ । सभामुखमा निर्वाचित भएदेखि नै आफू त्यसखालको प्रयासमा लागेको भए पनि केही समय अघिसम्म संसद् अवरोध हुँदा त्यसलाई गतिशील बनाउन नसकिएको उहाँको भनाइ थियो ।संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास–पहिलो संसद्देखि सङ्घीय संसद्सम्म’ पुस्तक आज सार्वजनिक गर्दै सभामुख सापकोटाले सङ्घीय संसद् र मातहतका समितिमा जनचासोका विषयमा बढी छलफल होओस् र राष्ट्रका लागि आवश्यक कानुन निर्माणमा बढी तदारुकता आओस् भन्ने पक्षमा आफू रहेको बताउनुभयो ।

महत्वपूर्ण विधेयक शीघ्र पारित गरेर सङ्घीयता कार्यान्वयनका लागि आफूले सबै समितिलाई आग्रह गरेको र केही विधेयक अगाडि बढाउन सम्वद्ध पक्षलाई ध्यानाकर्षण गराइएको समेत उहाँले जानकारी गराउनुभयो । लामो समयदेखि अड्केको नागरिकता विधेयकले निकास नपाउँदा हजारौँ युवाले नागरिकता पाउन नसकेको भन्दै सभामुख सापकोटाले त्यसलाई अगाडि बढाउन आफूले प्रधानमन्त्री र कानुनमन्त्रीलाई समेत आग्रह गरेको छु भन्नुभयो ।

उहाँले संसदीय समितिलाई बढीभन्दा बढी क्रियाशील बनाउने सन्दर्भमा आज सार्वजनिक पुस्तकबाट पनि प्ररेणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उक्त पुस्तकमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार एवं इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापाले नेपालको संसदीय मामिला र संसदीय समितिका बारेमा जानकारी लिनका लागि पुस्तक उपयोगी रहेको छ भन्नुुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology