• Saturday 25th of July 2026

वर्सातमा डेङ्गुको समस्या


  • गोकर्णेश्वर अनलाइन

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले बताउनुभयो ।

डेङ्गुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको विषय बनेको डा पोखरेलको भनाइ छ । “अघिल्ला वर्ष पनि देखिएको थियो, अहिले पनि एउटै समयमा देखिया”, पोखरेलले भन्नुभयो, “खाल्डाखुल्डीमा पानी जम्ने, ग्यारेजहरुमा सफाइ नहुने समयमा सङ्क्रमण बढी देखिएको छ ।” असार साउन महिनामा पानी धेरै जम्ने समस्या हुँदा डेङ्गु भेटिएको उहाँले बताउनुभयो ।
त्यसो त अघिल्ला वर्ष पनि डेङ्गुका बिरामी भेटिने गर्थे । यो वर्ष पनि डेङ्गुका बिरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय बागलुङ र अस्पतालले नियन्त्रण प्रयास थालेका छन् । बागलुङ नगरपालिका–७ र ९ का एक महिला र एक पुरुष बिरामी अस्पतालमा आएपछि डेङ्गुबारे धेरैको चासो बढेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । हाल अस्पतालमा भर्ना भएका बिरामीको भने अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

डेङ्गु भएकालाई उच्च ज्वरो, हातखुट्टा चिलाउने शरीर सुन्निने, दुख्ने समस्या हुने गरेको अस्पतालका अर्का डा अभिषेक वाग्लेले बताए । बागलुङमा यसअघि पनि डेङ्गुका बिरामी भने भेटिएका थिए । उनीहरुलाई पनि अस्पतालले उपचार गरेर निको बनाई घर पठाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालयमार्पmत सन्देश पठाइएको पोखरेलले जानकारी दिनुभयो ।

डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले १० पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचेर डेङ्गु पत्ता लगाउन सकिने भएकाले कम्तीमा प्राथमिक स्वास्थ्य केन्द्र तहमा किट पठाएर परीक्षण गर्न सकिने पोखरेलले बताउनुभयो । “वर्सातमा लामखुट्टेबाट बच्ने नै उत्तम उपाया हो”, उहाँले भन्नुभयोे, “अनिवार्य झूल टाँगेर सुत्ने, सरसफाइमा ध्यान दिने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “घर वरिपरि सफा राख्न लगाउने काम भइरहेको छ ।”

जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार वर्सात लागेपछि नै महिला स्वास्थ्य स्वयम्सेविकादेखि स्वास्थ्यकर्मी समेतलाई डेङ्गुसहित वर्सातमा हुन सक्ने रोगव्याधीबारे जानकारी गराइएको छ । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन भनिएको उहाँले बताउनुभयो । गाडीका ग्यारेजमा हुने टायरमा जमेको पानीदेखि खाल्डाखुल्डीमा रहेको पानीमा पनि डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

“धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने अवस्थामा बिरामी आए डेङ्गुको लक्षण मानेर परीक्षण थालिन्छ”, डा पोखरेलले भन्नुभयो, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुन सक्छ ।” अस्पतालका कोरोना फोकलपर्सन डा वाग्लेकै नेतृत्वमा डेङ्गु उपचारसमेत थालिएको हो ।

बागलुङ नगर क्षेत्रमा अझै बढी जोखिम हुने भन्दै नगर स्वास्थ्य शाखा, अन्य स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सचेत रहन भनिएको शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । एकपटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उहाँले भन्नुभयो । बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टायरहरु हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि आग्रह गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology