• Saturday 25th of July 2026

मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो


  • गोकर्णेश्वर अनलाइन

अत्यधिक नियमित मदिरा सेवन गर्नाले कलेजो बिग्रनेको सङ्ख्या दैनिक बढ्दो छ । भरतपुरको मौलाकालिका अस्पतालका रेडियोलोजिष्ट डा रमेश घिमिरेसँग जाँच गराउन आउने बिरामीमध्ये दैनिक सरदर तीन जना मदिरा सेवनका कारण कलेजो बिग्रेर आउने गर्दछन् । उहाँले भन्नुभयो “कलेजो बिग्रने अवस्थामा जाँदै गरेका बिरामी दैनिक छ हाराहारी आउँछन् ।”

अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन् । यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ ।

उहाँले भन्नुभयो, “फ्याटी लिभर भएका दैनिक आठ÷दश जना आउँछन् । तीमध्ये ७५ प्रतिशत मदिरा सेवन गर्नेहरू हुन्छन् ।” ‘फ्याटी’ लिभर भएका सामान्य, मध्यम र जटिल भएर आउने गर्दछन् । उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बताउँछन् । कलेजोको ‘सिरोसिस’ भएकालाई पूर्ववत अवस्थामा फर्काउन कठिन हुन्छ । यस्तालाई प्रत्यारोपणको विकल्प हुँदैन ।

डा घिमिरेले ‘सिरोसिस’ भएको बिरामीको कलेजो जुटको बोराजस्तै हुने जानकारी दिनुभयो । चितवन मेडिकल कलेजका कलेजो प्रत्यारोपण सर्जन डा सञ्जयकुमार यादवले अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका छ जना सबैको उच्च मदिराका कारण कलेजो काम नलाग्ने भएको बताउनुभयो । तीमध्ये एक जनामा हेपाटाइटिस बी समेत देखिएको थियो । उहाँले भन्नुभयो, “नेपालमा कलेजोमा समस्या आउने अधिकांश मदिराको कारण हो ।” लामो समयसम्म धेरै मदिरा पिउनेहरूमा कलेजोको समस्या हुने गरेको छ । धेरै मदिरा सेवन गर्नेहरूमध्ये १० देखि १५ प्रतिशतमा कलेजोको समस्या हुने उहाँ बताउनुभयो ।

चिकित्सकका अनुसार नियमित धेरै मदिरा सेवन गर्नेका १० देखि १५ वर्षमा कलेजो बिग्रने गर्दछ । सुरुमा कलेजो खराब भए पनि बाहिर समस्या देखिँदैन । भिडियो एक्सरे र रगत परीक्षण गर्दा मात्रै समस्या देखिने डा यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “मदिरा सेवन गर्नेहरूले नियमित भिडियो एक्सरे वा रगतको नमूना परीक्षण गराउनु पर्छ ।”

मदिरा धेरै सेवन गर्नेमा जण्डिस हुने, पेटमा पानी जम्ने, रगत वान्ता गर्ने, बेहोस हुनेजस्ता समस्या देखिने डा यादवको भनाइ छ । हेपाटाइटिस बी र सी का कारण पनि कलेजो खराब हुने गर्दछ । तौल बढी भएका, वंशाणुगत रोग हुनेहरू र कलेजोको क्यान्सर भएर पनि समस्या देखिने डा यादवले जानकारी दिनुभयो ।

मदिरा धेरै सेवन गर्नेहरुले समय–समयमा परीक्षण नगर्ने र अन्तिम अवस्था पुगेपछि मात्रै परीक्षण गर्दा कलेजो पूरै काम नलाग्ने अवस्थामा पुग्ने गरेको पाइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology