• Saturday 25th of July 2026

माछापालनबाट मनग्य आम्दानी


  • गोकर्णेश्वर अनलाइन

मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचित हुनुहुन्छ ।

भुरा बिक्री वितरण तथा माछापालन व्यवसायमा रमाइरहनुभएका राई विगत २५ वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । व्यावसायिक किसिमले विभिन्न जातका माछाका भुरा तथा खाने माछा खरिद बिक्री गदै आउनुभएको राई ११ जति कामदारलाई स्वदेशमै रोजगारीसमेत दिन सफल हुनुभएको छ । उहाँले आफ्नो आठ कट्ठा जमिनमा रहेको माछा फर्ममा आधुनिक किसिमको पद्धति अपनाएर माछाको भुरा बिक्री तथा माछापालन गरी वार्षिकरूपमा रु १० लाख जति आम्दानी गरेर अघि बढ्न सफल भएको बताउनुभयो ।

कृषकका लागि सहज किसिमले आफ्नो फार्मबाट माछाका भुराको बिक्री वितरण गर्दै व्यवसायलाई अघि बढाउनुभएका राई माछापालन गर्न चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतसमेत बन्न सफल हुनुभएको छ । उहाँको माछा फार्ममा दैनिकरूपमा बर्खा र हिउँद गरी सिजनको समयमा ग्राहक पहाड तथा मधेसको भित्री भागबाट समेत माछाका भुरा खरिद गर्न आउने गरेको पाइन्छ ।

राईको व्यावसायिक फार्ममा खाने माछा किन्नेको समेत भीड लाग्ने गर्दछ । थोरै जमिन तथा कम लागतमा पनि माछापालन गर्दा दोब्बरभन्दा बढी आम्दामी लिन सकिने अनुभव बटुलेका राई नेपालमा बढी मात्रामा भारतीय माछाले बजार लिइरहेको हुँदा यस व्यवसायको विकासका लागि कृषकलाई हौसला तथा सहयोग हुने खालको कार्यक्रम सम्बन्धित पक्षले ल्याउन जरुरी भएको बताउनुहुन्छ ।

राईले सञ्चालन गर्नुभएको फार्ममा विशेष गरेर उन्नत जातका माछाका भुरा ग्रासकार्प, कमनकार्प, सिल्भर कार्प, विगहेड कार्प, पङ्गास, रहु, नैनी, भाकुर, साथै हाइबेड, मुग्रीलगायतका भुरा सहजरुपमा पाइन्छन् । खाने माछामा मुर्गीबाहेक अन्य जातका माछा यहाँ उत्पादन हुने गरेको छ ।

मेहनत र पौरख गरेर राम्रोसँगले माछापालन गर्ने हो भने जीविकोपार्जन मात्र होइन मनग्य पैसा कमाउन सक्ने सम्भावना रहेको राई बताउनुहुन्छ । अन्य कृषि व्यवसायको तुलनामा यस व्यवसायबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । फागुन १५ देखि असोज कात्तिकसम्मको समय माछापालनको सिजन भएकाले माछालाई जाडोभन्दा गर्मी नै बढी सहज हुने कृषक राई बताउनुहुन्छ ।

स्वदेशमै रहेर लामो समयदेखि माछा तथा भुरा बिक्री वितरण गर्दै आउनुभएका राईले राँगाभैँसीको समेत मासुका लागि खरिद बिक्री गरी व्यवसायलाई थप मजबुत बनाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology