• Tuesday 8th of September 2026

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो ।

पहिलो दिन दुई सुत्केरीले सेवा पाएको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो । “एम्बुलेन्सको भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपयको ज्यान जाने गरेको छ”, उहाँले भन्नुभयो, “नगरभित्रका विपन्न वर्गले पैसा अभावकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरेका हौँ ।”

नगर उप–प्रमुख निलम लेखक जोशीले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको बताउनुभयो । “निर्वाचनका बेला जनतामाझ गरेका वाचा अनुसार यो सेवा सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “यो सेवा निरन्तर रुपमा चल्छ ।”

भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले नगरपालिकासँग एउटा मात्रै एम्बुलेन्स भएकाले महाकाली प्रादेशिक अस्पताल, नेपाल रेडक्रस सोसाइटी र परिवार नियोजन सङ्घसँग भाडामा एम्बुलेन्स लिने सम्झौता गरिएको बताउनुभयो । “सुत्केरी र गर्भवतीलाई अस्पताल ल्याउने तथा घर पु-याएबाफतको रकम नगरपालिकाले भुक्तानी गर्छ”, उहाँले भन्नुभयो–“यसबाट विशेष गरी विपन्न समुदायलाई सहयोग पुग्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology