• Sunday 26th of July 2026

राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता वीपी कोइरालामा थियो : पूर्वराष्ट्रपति यादव


  • गोकर्णेश्वर अनलाइन

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताउनुभएको छ ।

जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उहाँले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताउनुभयो ।

“विपी कोइरालाले विसं २००८ सालदेखि २०१४ सालसम्म देशका सबै भू–भागमा पुगेर त्यहाँको भूगोल, आर्थिक तथा सामाजिक अवस्था बुझ्नुभएको थियो, अहिले मुलुकमा देश, जनता र भूगोल बुझ्ने नेता छैनन्”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाप्रति लक्षित गर्दै डा यादवले भन्नुभयो, “तपाईं पार्टीको महामन्त्री भइसक्नुभयो, तपाईं सारा देश घुम्नुहोस्, तपाईंको भविष्य छ ।”

पूर्वराष्ट्रपति डा यादवले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गिरिजाप्रसाद कोइरालालगायतका नेताले मुलुकमा गरेको सङ्घर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गर्नुभयो । “मैले विसं २०२५ सालमा पहिलोपटक वीपी कोइरालालाई भेटेको हुँ, उहाँ देश र जनताप्रति सँधै चिन्तित हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

पार्टीका संस्थापक नेता वीपी कोइरालाका बारेमा पढ्न कांग्रेसलाई फुर्सद नभएको उहाँको भनाइ थियो । “पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको छ, कांग्रेसभित्र जनताको बीचमा जान अशंवण्डा गरिएको छ”, उहाँले भन्नुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले देश र जनताको अधिकारका लागि आजीवन सङ्घर्ष गर्ने नेता वीपी कोइराला भएको बताउनुभयो । “वीपी कोइराला बाल मनोविज्ञान बुझ्ने व्यक्ति हुनुहुन्थ्यो, काम गर, फलको आश नगर भन्ने प्रवृत्ति उहाँमा थियो”, उहाँले भन्नुभयो ।

जननायक वीपी कोइराला स्मृति ट्रष्टका महासचिव एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले वीपी कोइरालाको राजनीतिक तथा साहित्यिक क्षेत्रलाई अध्ययन तथा अनुसन्धान गर्नका लागि ‘वीपी कोइराला स्टडिज तथा रिसर्च सेन्टर’ भवन निर्माण गर्न लागिएको बताउनुभयो । रु नौ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन छ तले हुनेछ । उक्त भवनको गत वर्ष कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास समेत गरिसक्नुभएको छ ।

विपी कोइराला स्मृति ट्रष्टले विपी कोइरालाद्वारा लिखित पुस्तकको रोयल्टी सङ्कलन गरेर ट्रष्टबाट केही रकम थप गरी हरेक वर्ष रु एकलाख एक हजारको जननायक वीपी कोइराला साहित्य सम्मान पुरस्कार तथा रु ५१ हजार नगद राशिको जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology