• Sunday 26th of July 2026

गठबन्धनभित्र सिट बाँडफाँटको समस्या छैन : अध्यक्ष दाहाल


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गठबन्धनभित्र सिट बाँडफाँटको विषयमा ठूलो समस्या नरहेको उल्लेख गर्दै दलहरु समझदारी र सहमतिको नजिक पुगेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हामी हिजोनै टुङ्गोमा पुगिसक्ने थियौँ । कतिपय बेला म उद्योग परिसङ्घको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रित भएर लाग्न पाएनौँ । आज ३ बजेपछि शीर्ष नेताको बैठक बसेर टङ्गोमा पुग्नेछौँ ।”

अध्यक्ष दाहालले विभिन्न जिल्लाबाट आफूलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्नका लागि आग्रह गरिए पनि चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने भएकाले चितवनबाटै चुनाव लड्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “चितवन छाड्दा सन्देश राम्रो हुँदैन, जित्छु भन्नेमा पूर्ण विश्वासमा छु । हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ । प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो । अहिले चितवन छाडेर हिँड्दा डराएर हिँडेको भन्ने हुन्छ । मैले त्यहाँ जित्छु पनि ।”

अध्यक्ष दाहालले नागरिकता विधेयक दोस्रो पटक दुवै सदनबाट पारित भएर गइसकेपछि राष्ट्रपति पारित गर्ने विश्वास व्यक्त गर्नुभयो । “राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौं यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ ।” अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरण नगर्ने हो भने दुईवटा सम्भावना छ । पहिलो, यो विषय अदालतमा जान्छ । दोस्रो, राष्ट्रपतिले राजीनामा दिनुपर्ने स्थिति आउन सक्छ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology