• Sunday 26th of July 2026

कांग्रेसको घोषणापत्रमा जिम्मेवार सोच र भरोसाको सङ्कल्प रहनेछ : महामन्त्री शर्मा


  • गोकर्णेश्वर अनलाइन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीले तयार गर्ने घोषणापत्रमा जिम्मेवार सोच एवं भरोसा गर्न सकिने सङ्कल्प र अठोटको प्रधानता रहने बताउनुभएको छ ।

सुन्दरीजल, वीपी सङ्ग्रहालयमा भएको १०९औँ वीपी जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कांग्रेसको घोषणापत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान नहुने उल्लेख गर्नुभयो ।

आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहनुभएका महामन्त्री शर्माले भन्नुभयो, “घेरो मात्र बाँकी रहेको टोपी लगाएका नागरिकदेखि फाटेको धोती लगाएका नागरिकसम्मको भावना घोषणापत्रले समेट्ने छ, कोही अझै शिक्षाबाट बञ्चित किन ? ‘ड्रपआउट’ कहिलेसम्म ? उच्च शिक्षा लिएर पनि बेरोजगार बस्नुपर्ने बाध्यता किन ? विकल्प के र कसरी ? घोषणापत्र त्यसमा प्रबिस्ट हुनेछ ।”

कांग्रेसको घोषणापत्र निर्माणकार्य अब छिट्टै सुरु गर्ने जानकारी गराउँदै उहाँले पार्टीको ऐतिहासिक निरन्तरतालाई अब नवीनतामा लैजाने सङ्कल्प घोषणापत्रले बोक्ने बताउनुभयो । स्थापनाकालमा वीपी कोइरालाले लेख्नुभएको दस्तावेज, विसं २०१५ को घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजहरूको गहिरो अध्ययन अबको घोषणापत्र निर्माण गरिने महामन्त्री शर्माले उल्लेख गर्नुभयो ।

नेपाल आज जहाँ आइपुगेको छ, ती उपलब्धिहरूको स्मरण, यो अवधिमा भएका कमजोरीको पहिचान र बदलिएको समयको अपेक्षाको जगमा व्यवहारिक घोषणापत्र निर्माण गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । “वीपीले परिकल्पना गर्नुभएको नेपाल र आजको नेपाली युवाको भावनालाई एकाकार गरेर व्यक्ति या दलको मात्र होइन, कांग्रेसको घोषणापत्रले ‘देशको सपना’लाई प्रकाश पार्ने प्रयत्न गर्नेछ, त्यसो गरिरहँदा ५० लाख बढीको सङ्ख्यामा विदेशमा रहेकोे ‘नेपाल बाहिरको नेपाल’को भावनालाई समेट्ने छ”, महामन्त्री शर्माले भन्नुभयो ।

भारत र चीन दुवै छिमेकी मित्रराष्ट्रको बढ्दो आर्थिक उचाइबाट लाभान्वित हुँदै ‘छिमेकीको आर्थिक गति सँगसँगै अघि बढ्ने’ दृष्टि, सङ्कल्प र सुस्पष्ट योजना जो जरुरी छ, त्यसबारेमा पनि घोषणापत्रले प्रकाश पार्ने उहाँले जानकारी गराउनुभयो । शासन प्रणाली सही भएर पनि नागरिकलाई व्यापक विश्वासमा लिन भइरहेका कमजोरीको पहिचान गरेर, राष्ट्र निर्माणको महाअभियानमा ‘म र मेरा लागि तर समग्रमा देशका लागि’ भन्ने युवा भावनाको लहर घोषणापत्रको अन्तर्वस्तुमा समाहित गरिने बताउनुभयो ।

वीपी सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा क्षेत्रीय सभापति सन्तोष चालिसेले पनि मन्तव्य दिनुभएको थियो । आगामी आमनिर्वाचन कांग्रेसको घोषणापत्र निर्माण समितिको संयोजक रहनुभएका उहाँले सुन्दरीजलबाटै पार्टीको महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology