• Saturday 25th of July 2026

कागतीमा आत्मनिर्भर बन्यो झापा


  • गोकर्णेश्वर अनलाइन

झापा, २९ भदौ (रासस) : झापा जिल्ला कागतीमा आत्मनिर्भर भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । च्याउ र केरामा आत्मनिर्भर झापा अब कागतीको जिल्लाका रूपमा समेत चिनिने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा झापामा एक हजार एक सय ४० मेट्रिक टन कागती उत्पादन भएको र चालु आवमा अझ बढ्ने कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ४० भन्दा बढी किसान कागतीको व्यावसायिक खेतीमा लागेका छन् । पन्ध्र पालिकामध्ये मेचीनगर, अर्जुनधारा, बिर्तामोड, गौरादह र बुद्धशान्ति कागती खेतीको ‘हब’ बनिरहेका छन् ।

“अब भारतबाट कागती आयात गर्नुपर्ने अवस्था छैन”, सूचना अधिकारी शिवाकोटीले भन्नुभयो, “बजारमा अहिले स्थानीय कागती भरमार पाइन्छ । बरु बिक्री गर्नका लागि किसान आफैँ गाडीमा कागतीका पोका लिएर गाउँगाउँ पुग्न थालेका छन् ।”

कागती उत्पादनमा लागेका किसानले १० कठ्ठादेखि सात बिघासम्म जमिन भाडामा लिएर व्यावसायिकरूपमा कागती खेती गर्दै आएको पाइन्छ । झापाको भूबनोट कागतीखेतीका लागि उर्वर रहेको ज्ञान केन्द्रको भनाइ छ ।

अर्जुनधारा नगरपालिका–९ का ६० वर्षीय पुष्प रेग्मी झापामा कागती खेती गर्दै आउनुभएका अगुवा कृषक हुनुहुन्छ । उहाँले सुरुमा आफ्नै जमिनमा एक बिघा १५ कट्ठामा परीक्षणका लागि कागती खेती गर्नुभयो । तीन वर्षपछि कागतीले सोचेभन्दा बढी उत्पादन र आम्दानी दिएपछि उहाँले बुद्धशान्ति गाउँपालिका–१ होक्सेमा सात बिघा जमिन भाडामा लिनुभयो ।

भाडामा लिइएको जमिनको प्रतिबिघा वार्षिक रु ५० हजार ठेक्का बुझाउनुपर्दछ । पन्ध्र वर्षका लागि भाडामा लिएर कागती खेती गर्नुभएका उहाँले दुई हजार दुई सय कागतीका बिरुवाले फल दिइरहेको जानकारी दिनुभयो । उहाँको आम्दानी बढेको देखेपछि छिमेकी अम्बिका फँुयालले कागती खेतीमा साझेदारी गर्न थाल्नुभएको छ ।

मल, कीटनाशक औषधि, भिटामिनलगायतका आवश्यक सामान चाहिएको बेला बजारमा उपलब्ध नहुँदा भने कागतीका बोटमा डाँठ पहँेलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्नेलगायतको रोगले दुःख दिन थालेको फुँयालले गुनासो गर्नुभयो ।

बुद्धशान्ति गाउँपालिका–२ जयपुरका राम उप्रेती विगत छ वर्षदेखि कागती खेतीमा जमेर लाग्नुभएको छ । दुई बिघामा कागती खेती गर्नुभएका उप्रेतीले वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको जानकारी दिनुभयो । “कागती खेतीबाट फाइदै फाइदा छ, खुुसी छु”, कागती कृषक उप्रेती भन्नुहुन्छ, “भारतबाट भित्रिने सस्तो कागतीले बजारमा असर पारिरहेको छ तर अब स्वदेशमै पुग्दो उत्पादन भइरहेको हुँदा भारतबाट आउने कागती सरकारले रोकिदिए हुन्थ्यो ।”

झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागती खेती हुँदै आएको छ । कागती खेती गर्न चाहनेका लागि जिल्लामा थुप्रै नर्सरीले बिरुवा उपलब्ध गराउँदै आएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लालाई कागतीमा आत्मनिर्भर बनाउने उद्घोषका साथ विगत पाँच वर्षदेखि सहकारीमा आबद्ध सदस्यलाई कागतीको बिरुवा उपलब्ध गराउँदै आएको छ ।

बुद्धशान्तिका कृषक राम उप्रेतीले सुन–१ र सुन–२ जातको कागती खेती गरेको बताउनुभयो । उहाँका अनुसार यो जातको कागतीले बाह्रैमास फल र आम्दानी दिन्छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी शिवाकोटीले झापामा गत आव २०७८/०७९ मा तीन सय हेक्टर जमिनमा कागती खेती विस्तार भएको बताउनुभयो । यो वर्ष खेती अझै विस्तार हुने उहाँको भनाइ छ । विगतमा भन्दा जिल्लामा कागतीको खेती विस्तार हुँदै आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा २०४ हेक्टर जमिनमा कागती खेती थियो । जसमा नौ सय ७४ मेट्रिक टन कागती उत्पादन भएको थियो । आव २०७६/०७७ मा १७८ हेक्टर जमिनमा कागती खेती भएको थियो । कृषि विज्ञले झापाको कम अम्लीय खालको माटो कागती खेतीका लागि उपयुक्त भएको बताउँदै आएका छन् । जिल्लाको दक्षिणीभन्दा उत्तरी क्षेत्रको माटो कागतीका लागि उर्वर रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

केरा र च्याउमा पनि आत्मनिर्भर

धान, चिया, प्राकृतिक रबर र माछा उत्पादनमा अग्रणी मानिएको झापा जिल्ला केरा र च्याउमा पहिल्यैदेखि आत्मनिर्भर छ । झापामा एक हजार नौ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ भने वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । यहाँ उत्पादित केरा मोरङ, सुनसरी, काठमाडौँ र पोखरासम्म निर्यात हुने गरेको छ ।

यसैगरी, जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ–गाउँमा व्यावसायिकरूपमा उत्पादन हुँदै आएको छ । दुई सय मेट्रिक टन च्याउ जिल्लामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारमा बिक्री हुँदै आएको छ ।

झापामा २५ वर्षअघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउखेतीको सुरुआत गर्नुभएको थियो । उहाँले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गरेका थिए । झापामा उत्पादित च्याउले प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौँमा समेत बजार पाउने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology