• Saturday 25th of July 2026

धमाधम गणना, नतिजा सार्वजनिक हुँदै


  • गोकर्णेश्वर अनलाइन

सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म छ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

गए राति सम्पन्न महोत्तरी–१ (२) को अन्तिम मतगणना परिणामअनुसार नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह आठ हजार तीन सय ७१ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ । साहका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका रामश्रेष्ठ महतोले पाँच हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महोत्तरी–२ (१) मा लोसपा नेपालका जयनुल राइन ११ हजार चार सय २४ र महोत्तरी–२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह आठ हजार पाँच सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको कार्यालयले जनाएको छ । राइनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का मञ्जु यादवले छ हजार दुई सय ५१ र साहका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले छ हजार आठ सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले पुष्टि गर्नुभयो ।

यस्तै महोत्तरी–४ (१) मा नेकपा (एमाले)का सरोजकुमार यादव १० हजार पाँच सय ३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका कौशलकुमार यादवले आठ हजार छ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी–३ (१) र (२) को अन्तिम परिणाम सार्वजनिक भइसकेको हो । दुवैमा लोसपा नेपालका उम्मेदवार क्रमशः अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी हुनुभएको हो । शर्माका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका दीपेन्द्र झाले नौ हजार सात सय ७८ र तिवारीका निकटतम् प्रतिस्पर्धी एमालेका रामदयाल मण्डलले चार हजार पाँच सय ६० मत प्राप्त गनुभएको छ । जिल्लामा अब प्रदेशसभातर्फ महोत्तरी–१ (१) र महोत्तरी–४ (२) को मात्र परिणाम सार्वजनिक हुन बाँकी छ । प्रतिनिधिसभातर्फ भने चारै क्षेत्रमा गणना अझै जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology