• Saturday 25th of July 2026

हरियो मकै निर्यात गर्दै गैँडाकोट


  • गोकर्णेश्वर अनलाइन

नवलपुर, १२ मङ्सिर (रासस) : सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ ।

काठमाडौँ, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट-६ का किसान तिलकप्रसाद रिजालले बताउनुभयो ।

“यहाँ मकैको उत्पादन राम्रो हुन्छ, मकै मात्रै लगाउँदा तीन बाली उत्पादन हुन्छ साथै यहाँ बाह्रैमहिना मकै फलाउन सकिन्छ”, रिजालले भन्नुभयो, “हामीले उत्पादन गरेको मकै खरिद गर्नका लागि काठमाडौँ, पोखरा, बुटवललगायतका सहरबाट व्यापारीहरु आउँछन् ।”

अन्य खेती गर्दा किसानको मेहनत धेरै हुने र उत्पादन कम हुने भएकाले पनि किसानहरु मकै खेतीमा आकर्षित भएका रिजालको भनाइ छ ।

“गैँडाकोटमा बाह्रैमहिना हरियो मकै देख्न सकिन्छ, एउटै समयमा कसैको खेतमा मकैको बिरुवा त कसैका खेतमा फल्न लागेका र कतै पाक्न लागेका मकै देख्न सकिन्छ”, रिजालले भन्नुभयो, “हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पादन पनि राम्रो हुने भएकाले हामी किसान मकैतर्फ आकर्षित भएका हौँ ।”

विगत १५ वर्षदेखि बेमौसममा मकै खेती गर्दै आउनुभएका रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गर्नुभएको छ । “एक सिजनमा रु चारदेखि पाँच लाखसम्मको मकै बिक्री गर्दै आएको छु”, रिजालले भन्नुभयो, “हिउँदमा लगाइने मकै प्रतिकठ्ठा चार क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।”

खानका लागि स्वादिलो र व्यवसायिकरुपमा राम्रो उत्पादन हुने भएकाले यहाँका किसानले प्रायः हाइब्रिड जातका मकै लगाउने गरेका रिजालले बताउनुभयो ।

गैँडाकोट–७ का सरस्वती सापकोटाले एक बिघा क्षेत्रफलमा लगाएको मकै बिक्री गरी परिवारको खर्च धान्न पुग्ने बताउँहुन्छ । “मकै लगाएर गाईभैँसीलाई खुवाउन पनि भएको छ भने अलिकति बिक्री गरी घरखर्च पनि टरेको छ” सापकोटाले भन्नुभयो । मकैका लागि अनुकूल हावापानी, सिँचाइको व्यवस्थाले मकै खेतीप्रति किसानको आकर्षण बढेको पाइन्छ ।

खेतमा बर्खे धान काटेर त्यो जमिनमा मकै लगाएको बताउँदै सापकोटाले गैँडाकोटमा पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी भागमा मकैको उत्पादन राम्रो हुने बताउनुभयो । बर्खे धान रोप्ने ठाउँमा दुईबाली र मकैमात्र लगाउँदा राम्रोसँग तीनबाली उत्पादन गर्न सकिने सापकोटाको भनाइ छ । “जाडो महिनामा मकै उत्पादन हुन पाँच महिना लाग्छ” सापकोटाले भन्नुभयो, “जाडो महिना बाहेक अन्य समयमा एक सय दिनमा हरियो मकै खान मिल्ने गरी तयार हुन्छ ।”

गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको ५, ६, ७, ८ र ९ नं वडामा बेमौसमी मकै उत्पादन हुने गरेको बताउनुभयो । “यहाँ खासगरी वडा नम्बर ६, ७ र ९ मा धेरै मकै लगाउने गरिएको छ” शर्माले भन्नुभयो, “५ र ८ नम्बर वडामा पनि मकैको राम्रो उत्पादन हुने गरेको छ ।” यहाँ उत्पादन भएको मकैले जिल्लाको माग धानेर देशका मुख्य सहरमा निर्यात हुने गरेको शर्माले बताउनुभयो ।

“यहाँ उत्पादन हुने मकै गैँडाकोटको जयश्री नजिकैको पूर्व–पश्चिम राजमार्ग छेउमा २० भन्दा बढी स्थानबाट बिक्री हुने गरेको छ, साइकल र मोटरसाइकलमा घुमाएर स्थानीय व्यापारीले बेच्ने गरेका छन्” शर्माले भन्नुभयो, “जिल्लाको माग धानेर बढी हुने मकै भने किसानले काठमाडौँसहित पोखरा, बुटवल, भैरहवा तथा छिमेकी जिल्ला चितवनका व्यापारीलाई बेच्दै आएका छन् ।”

नगरपालिकाले गैँडाकोटको वडा नं ६, ७ र ९ मा मकै जोन कार्यक्रम सञ्चालन गरेर अघिल्लो आर्थिक वर्षमा रु २३ लाख ८२ हजार अनुदान प्रदान गरिएको शर्माले बताउनुभयो । “हामीले तीनवटा वडामा कृषि समिति निर्माण गर्न लगायौँ, ती वडासमितिबाट एउटा मूलसमिति निर्माण ग¥यौँ” शर्माले भन्नुभयो, “समितिबाट माग भएअनुसार हामीले कृषि औँजार, बीउ र औषधिमा अनुदान प्रदान गरेका छौँ ।”

यहाँको मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढी देखिने हुँदा नगरपालिकाले फेरोमन ट्याब (अमेरिकन फौजी कीराको पासो), साइलेज बनाउने उपकरण तथा ट्र्याक्टरलगायतका उपकरण नगरपालिकाले अनुदानमा प्रदान गरेको शर्माको भनाइ छ ।

गैँडाकोटमा हिउँदको समयमा लगाइएका हरियो मकै मात्रै रु तीन करोड बढीको बिक्री हुने गरेको शर्माको भनाइ छ । गैँडाकोटमा बर्खे मकै पाँच हजार तीन सय ३३ हेक्टर क्षेत्रफलमा लगाइने गरेको भए पनि अन्य मौसममा भने कम क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

यहाँ ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै उत्पादन हुने भन्दै शर्माले हिउँदे मकैको उत्पादकत्व सात मेट्रिक टन प्रति हेक्टर रहेको बताउनुभयो । त्यस्तै एक सय ३३ हेक्टर क्षेत्रफलमा वसन्ते मकै लगाइने गरेकोमा उत्पादकत्व प्रतिहेक्टर छ मेट्रिक टन र बर्खे मकैको उत्पादकत्व पनि छ मेट्रिक टन प्रतिहेक्टर भएको शर्माले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology