• Sunday 26th of July 2026

नागरिक उन्मुक्ति पार्टीः डेब्युमै चार सिट जित


  • गोकर्णेश्वर अनलाइन

महेन्द्रनगर, पहलमानपुर, १४ मङ्सिर (रासस): दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हाँसिल गरेको छ ।

गत पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा उक्त राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले निर्वाचनमा थारु बाहुल्यता रहेको क्षेत्रमा आफ्नो पक्षमा नतिजा ल्याउन सफल भएको हो । ढकीया चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेकोे उक्त दलले यहाँका प्रदेशसभाका धेरैजसो निर्वाचन क्षेत्रमा आफ्नो उपस्थिति देखाएको थियो । कैलालीमा मात्रै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ८७ हजार १२ मत र प्रतिनिधिसभा सदस्यतर्फ ८१ हजार छ सय २८ मत प्राप्त गरेको धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत राजेश चौधरीले बताउनुभयो ।

उहाँका अनुसार समानुपातिकतर्फको नतिजा अझै आउने क्रममा छ । पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेको कैलालीमा तीन लाख ३७ हजार तीन सय ७३ मत खसेको थियो ।

जिल्लाको प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र १, २ र ३ जितेको उक्त पार्टीले सुदूरपश्चिममा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ र २ समेत आफ्नो प्रभाव देखाएको छ । कैलाली निर्वाचन क्षेत्र नं १ मा पार्टी अध्यक्षसमेत रहनुभएकी उम्मेदवार रञ्जिताले प्रतिनिधिसभा सदस्यमा जित्दा सोही क्षेत्रमा रहेको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं १(क) मा कैलाश चौधरी र क्षेत्र नं २(ख) मा लक्ष्मणकिशोर चौधरी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी निर्वाचित हुनुभएको छ भने सो क्षेत्रको प्रदेशसभा सदस्यका लागि क्षेत्र नं २(ख) मा सोही पार्टीका रामेश्वर चौधरी निर्वाचित हुनुभएको छ ।

त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं ३ मा पनि उन्मुिक्त पार्टीले नै कब्जा जमायो । यहाँ प्रतिनिधिसभातर्फ गङ्गा चौधरी निर्वाचित हुनुभयो भने प्रदेशसभातर्फ क्षेत्र नं १(क) मा घनश्याम चौधरी र २(ख) मा खुसीराम चौधरी विजयी हुनुभयो । पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ठूलो दल नेकपा (एमाले) को जीत शून्य हुँदा सत्ता गठबन्धनबाट कांग्रेसका दुई उम्मेदवार यहाँ निर्वाचित भए ।

निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित उन्मुक्ति पार्टीका उम्मेदवार गङ्गा चौधरीले आफ्नो पार्टीले गरेको अपेक्षा अनुसार नै नतिजा आएको बताउनुभयो । “नयाँ पार्टी भए पनि हाम्रो ४५ जिल्लामा उम्मेदवारी थियो,” उहाँले भन्नुभयो–“जसमध्ये कैलालीमा तीन र बर्दियामा एक गरी चार सिट जित्न सफल भयौँ ।” उहाँले प्रदेशसभातर्फ कैलालीमा पाँच र बर्दियामा दुई गरी सात क्षेत्रमा जितेको बताउनुभयो ।

“अब पार्टी सङ्गठन विस्तार र संरचना निर्माणमा पनि हामी जोड दिँदै जान्छौँ,” निर्वाचित सदस्य चौधरीले भन्नुभयो, “डेब्युमै नतिजा राम्रो आउँदा हामी उत्साहित छौँ ।” गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा नागरिक उन्मुिक्त पार्टी दोस्रो ठूलो दल बनेको थियो । यहाँका १३ वटा पालिकामध्ये स्थानीय तहको निर्वाचनमा उक्त पार्टीले चार वटा पालिकामा जितेको थियो । कञ्चनपुरमा प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १(क) मा पल्टु राना र २(ख)मा काली चौधरी उम्मेदवार थिए । यहाँ काली चौधरीले भने पाँच हजार पाँच सय १७ मत ल्याउनुभएको थियो ।

यहाँको निर्वाचन क्षेत्र नंं २ (क) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गीता चौधरीले पाँच हजार एक सय ५३ मत ल्याउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology