• Saturday 25th of July 2026

यस वर्ष सुन्तलाको उत्पादन बढ्यो


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो ।

जिल्लाभरका एक सय ९१ हेक्टर क्षेत्रफलको सुन्तला बगैँचाबाट अहिले एक हजार २५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । उत्पादित सुन्तला बिक्रीबाट रु छ करोड १५ लाख आम्दानी भएको नवलपुरस्थित कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । गत वर्ष जिल्लामा सात सय ९५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

“नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुई गाउँपालिकाका नौ वडा र अन्य पाँच वडा गरी १४ वडामा तीन हजार दुई सय कृषक सुन्तलाखेतीमा आबद्ध छन् ।” उहाँले भन्नुभयो, “सुन्तलाखेतीका लागी बौदीकाली र बुलिङटार गाउँपालिकाका क्षेत्रलाई पकेट क्षेत्रका रुपमा लिइन्छ । यसबाहेक धुर्कोट, रतनपुर र र विनयी त्रिवेणीका केही वडामा पनि सुन्तलाखेती राम्रो हुने गर्दछ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत सुन्तलाको प्रवद्र्धन गराउन थालिएपछि पछिल्लो समय जिल्लामा क्रमिकरुपले उत्पादन बढ्दै गएको उक्त केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।

सुन्तलाको उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ । पहाडका हरेक गाउँमा कृषि सडक पुगेपछि कृषकलाई आफूले उत्पादन गरेको सुन्तला बजारसम्म ल्याउनु पर्नाको साटो व्यापारी नै गाउँ–गाउँमा आएर किन्ने गरेको कृषकहरुले बताएका छन् । जिल्लाको पहाडी क्षेत्रमा उत्पादित सुन्तला स्थानीय बजारसहित बुटवल, पोखरालगायत स्थानमा जाने गरेको छ । पहाडी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन हजार दुई सय घर परिवार सुन्तलाखेतीमा आश्रित छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology