• Tuesday 8th of September 2026

परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली


  • गोकर्णेश्वर अनलाइन

बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद हुनुभएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त सोमबार नियुक्त गर्नुभएको हो । परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ । दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर परियारले यो निर्णय बाँकेवासीका लागि मात्र नभई समग्र देशभरका दलित समुदायका लागि पनि खुशीको विषय भएको बताउनुभयो । संविधानसभा सदस्य दिनेशचन्द्र यादवले दुई पटक सांसद भइसक्नुभएका परियारलाई पार्टीले प्रदेश प्रमुख बनाएर राम्रो काम गरेको बताउनुभयो । बाँकेको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने निर्णयले बाँकेवासीमा खुशीयाली थपेको उहाँले उल्लेख गर्नुभयो । “पार्टीले योगदान गरेको व्यक्तित्वलाई सम्झिएर अवसर दिएको छ, कम्युनिष्ट पार्टी बनाउनमा उहाँको ठूलो योगदान रहेको छ”, नेकपा बाँकेका अध्यक्ष एवं प्रदेशसभा सदस्य आइपी खरेलले भन्नुभयो, “उहाँलाई प्रदेश प्रमुख बनाउने निर्णय बाँकेवासीका लागि खुशीको कुरा हो ।”

रोल्पाबाट शुरुमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौनामा बसाइँ सर्नुभएका परियार विसं २०५० पछि कोहलपुर आउनुभएको हो । उहाँ बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेता मानिनुहुन्छ । तत्कालीन माओवादीका सचिवालय सदस्यसम्म हुनुभएका परियार गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सिट दिँदा सांसदमा पर्नुभएको थियो । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट परियार विजयी हुनुभएको थियो । तत्कालीन नेकपा माओवादी विभाजन हुँदा शुरुमा मोहन वैद्यको पार्टीमा लाग्नुभएका परियार पछि विप्लव समूह हुँदै माओवादी केन्द्रमै फर्किनुभएको थियो । शिक्षामा स्नातक उत्तीर्ण परियार विगतमा शिक्षकसमेत हुनुभएको थियो । भारतमा काम गर्दै पढ्दै गर्नुभएका उहाँ एसएलसी उत्तीर्ण गरेपछि रोल्पा फर्किनुभएको थियो । उहाँ केही समय रोल्पामा शिक्षक पनि हुनुभयो । उहाँले भूमि सुधार कार्यालयमा खरिदारको कामसमेत गर्नुभएको थियोे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology