बैतडीबाट यो वर्ष हिउँदे फलफूलका बिरुवा बिक्री गरिने भएको छ । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरी र किसानको निजी नर्सरीबाट एक करोड ६ लाखका बिरुवा बिक्री हुने केन्द्रका प्रमुख डम्मर भाटले जानकारी दिनुभयो । केन्द्रमा ३१ हजार ९०० बिक्रीयोग्य बिरुवा रहेका छन् । किसानको निजी नर्सरीमा रु ९७ लाख ५६ हजार २५० बराबरका तीन लाख १९ हजार बिरुवा छन् । केन्द्रबाट मात्रै नौ लाख ६० हजारका बिरुवा बिक्री गर्ने तयारी भएको प्रमुख भाटको भनाइ छ । केन्द्रको नर्सरीमा नासपाती, स्याउ, ओखर, आरु, खुर्पानी, कटुसलगायतका सुख्खा फलफूलका बिरुवा राखिएका छन् । यस्तै २२ वटा निजी नर्सरीमा पनि किसानले ओखर, स्याउ, नासपाती, खुर्पानी, आरुबखडालगायतका बिरुवा राखेका छन् । बैतडीमा उत्पादित फलफूलका बिरुवा सुदूरपश्चिमका साथै देशका अन्य भू–भागमा पनि बिक्री गर्ने गरिएको केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका–१ र सुर्नया गाउँपालिका–२ मा मात्रै फलफूलका २२ निजी नर्सरी छन् । नर्सरीबाट उत्पादित फलफूलका बिरुवाबाटै किसानले राम्ररी जीविकोपार्जन गरिरहेका प्राविधिक खड्काको भनाइ छ ।
फलफूलका नर्सरीबाट आफूले वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्ने गरेको किसान देवदत्त भट्टले बताउनुभयो । डिप बोरिङबाट पानी केन्द्रको सतबाँझ बैतडीमा सिँचाइका लागि डिप बोरिङ प्रणालीबाट पानीको आपूर्ति गरिने भएको छ । केन्द्रको सतबाँझमा पानीको अभावले फलफूलका बोट र नर्सरीमा सिँचाइको अभाव भएकाले बोरिङ प्रणालीबाट सिँचाइको व्यवस्था गर्ने तयारी भएको केन्द्रका निमित्त प्रमुख डम्मर भाटले जानकारी दिनुभयो । केन्द्र परिसरमा पानीको सम्भाव्यता अध्ययन भइसकेको र १२० मिटर गहिराई पानी निस्कन सक्ने अनुमान छ । उहाँले भन्नुभयो,“केन्द्रमा पानीको व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन भएको छ ” केन्द्रको परिसरमा पानीको व्यवस्थापनका लागि डिप बोरिङ गाड्न भूमिगत जलस्रोत परियोजना कैलालीले लागत अनुमान तयार गरिरहेको जनाएको छ ।
त्यसपछि डिप बोरिङ गाड्नका लागि बोलपत्र आह्वान गरिने भएको छ । सुख्खा फलफूल विकास केन्द्रमा पानी निस्केपछि सिँचाइका लागि सजिलो हुने भएको छ । त्यँहा रहेका १४ वटा पोखरीमासमेत हाल पानी नहँदा सुक्दै गएका छन् । आकासे पानीको भरमा रहेको ती पोखरी सुक्दै गएका र तरकारी उत्पादनमा पनि कमी आएको छ । विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरीकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ । जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारीखेती गर्न थालेको हो । केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तराकारी खेती गरिँदै आएको छ ।
