• Friday 24th of July 2026

खप्तडमा पर्यटकका लागि सुविधा सम्पन्न आवास गृह निर्माण हुँदै


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् । खप्तड क्षेत्रमा आउने पर्यटकले खाने र बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले १२५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने भएको निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकलाई बास बस्न समस्या भयो भन्ने गुनासो आएपछि हामीले पर्यटन वर्ष २०२० लाई लक्षित गरी दुई वटा सुविधा सम्पन्न आवास गृह बनाउने तयारी गरेका छौँ, चाँडै नै आवास गृह बन्नेछन् ।” खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार खप्तड क्षेत्रमा १०० बेडको आवास गृह बन्नेछ भने खप्तड क्षेत्र जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य प्रारम्भ भएको छ । आवासका लागि निकुञ्जले लागत तयार गरेर स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु संरक्षण विभागमा पठाइसकेको बताइएको छ ।

दुईवटै आवासगृहको कूल लागत रु पाँच करोड रहेको छ । चालू आर्थिक वर्षमै भवन निर्माण कार्य सम्पन्न हुने गरी तयारी गरिएको निकुञ्जका सहायक वार्डेन शाहले बताउनुभयो । आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका इञ्जिनीयर सचिन न्यौपानेले बताउनुभयो । उहाँले कात्तिक महिनाभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा एकाएक वृद्धि भएपछि पर्यटकलाई सुविधा पु¥याउने उद्देश्यले उक्त दुई वटा भवन निर्माण गरिन लागेकोे हो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा करीब ४०० नेपाली र नौ जना विदेशी पर्यटक खप्तड क्षेत्रको भ्रमणमा आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology