• Saturday 25th of July 2026

उपनिर्वाचन २०७६ः दाङमा एक्लो महिला उम्मेदवार


  • गोकर्णेश्वर अनलाइन

–रीता लामा यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ । सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् । उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता तथा कार्यकर्ता सँगसँगै आफ्नो पक्षमा मत माग्न मतदाताको घरघरमा पुग्ने गरेका छन् । तुलसीपुर बजारका चियापसल तथा बजारका चोकचोकमा उपचुनावको चर्चा परिचर्चा निकै चल्ने गरेको छ । प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा दलबाट १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवार रहेका छन् । प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका १४ जनामध्ये एक महिलाले मात्र उम्मेदवारी दिएकी छिन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मात्र महिलालाई उम्मेदवार बनाएको छ । नेकपाले प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि खाली रहेको सो स्थानमा उहाँकी पत्नी विमला वलीलाई उम्मेदवार बनाएको छ ।

पार्टीबाट उम्मेदवारको रुपमा टिकट पाएलगत्तै अहिले विमला नेकपाका नेता कार्यकर्ताको साथमा बिहानदेखि साँझसम्म चुनावी अभियानमा व्यस्त हुनुभएको छ । चुनावअघिको समयमा कोही कसैको अगाडि बोल्दा पनि आफ्नो पतिको नाम आउने बित्तिकै आँशु झार्ने विमला अहिले क्रमशः बलियो बन्दै गएको उहाँको भनाइबाट पनि प्रष्ट हुन्छ । विकासप्रेमी नेताको पत्नी भएको नाताले पति कै कामलाई निरन्तरता दिने उहाँको सोच छ । “अरु नेताजस्ता महिला बोलक्ड नहोलान्, ठूलाठूला सपना देखाउन नजानेका होलान् तर इमान्दार भएर काम गर्न जानेका छन्”, उहाँले भन्नुभयो, “महिलाले जनताको भावना बुझ्न जानेका हुन्छन् तर भ्रष्टाचार गर्न जान्दैनन् ।” आफ्नो श्रीमान्को अपूरा सपना पूरा गर्न चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउँदै उहाँले आफू विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुभएका केशव आचार्यले आफूले विगत ३० वर्षदेखि यही क्षेत्रमा पार्टीको भूमिका निर्वाह गर्दै यहाँका जनताको दुःखसुखमा साथ दिएकाले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले आफूलाई सबैले पुरानो र त्यागी नेताका रूपमा चिन्ने गरेकाले यसपटक पार्टीभित्र गुटउपगुट पनि नहुने हुँदा आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो ।

यसैगरी राप्रपाबाट भुपाल रावत, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा (संयुक्त) बाट छोटीलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी पनि चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै नेपाली काँग्रेस (बिपी) बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी, साझा पार्टीका शिवकुमार चौधरी पनि चुनावी मैदानमा हुनुहुन्छ भने स्वतन्त्रबाट गोविन्द केसी र टीकाराम आचार्य पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चौध उम्मेदवार भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वली र नेपाली काँग्रेसबाट आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा नेकपाका प्रदेशसभा सदस्य स्व उत्तरकुमार वलीले २३ हजार ९७० मत प्राप्त गरी विजय हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गर्नुभएको थियो । दाङ क्षेत्र नं ३ को २ मा कूल ६८ हजार ७१९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । तीमध्ये पुरुष ३३ हजार ७७८ र महिला ३९ हजार ६६० र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १, २, १० र ११ सँगै शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका पर्दछन् । यहाँ हुने उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ७७ मतदान केन्द्र निर्धारण गरिएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर गरी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology