• Friday 24th of July 2026

राम्चे वनले पर्यटकलाई लोभ्याउँदै


  • गोकर्णेश्वर अनलाइन

पाल्पा रामपुरको राम्चे सामुदायिक वनमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । रामपुर नगरपालिका–५ स्थित रहेको राम्चे सामुदायिक वन उपभोक्ता समूहले पर्यटकलाई नै मध्यनजर गर्दै विभिन्न संरचना निर्माण गरेपछि आन्तरिक पर्यटनमा वृद्धि आएको छ । वन क्षेत्रभित्र वनभोज स्थल मात्रै रहेकामा अहिले दृश्यावलोकन स्तम्भ, ५०० जना अट्ने सभाहल तथा सुविधा सम्पन्न शौचालय, खानेपानी तथा पोखरी निर्माण गरिएको छ । रामपुर बजार आउने पर्यटकहरु कालीगण्डकी बेँसीका चार जिल्ला नियाल्ने उद्देश्यले राम्चे दृश्यावलोकनमा पुग्ने आउने गरेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृतिनाथ श्रेष्ठले जानकारी दिनुभयो । धार्मिक एवं पुरातात्विक हिसाबले पनि महत्वपूर्ण रहेको रामपुर त्यसमा पनि भगवान् रामको कथासँग सम्बन्धित क्षेत्रको नामकरण भएकाले पनि यहाँ धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको समितिका सचिव राधिका भण्डारीको भनाइ छ । सरकारले सय पर्यटकीय गन्तव्यका रुपमा राखेको कृतिम ताल, तालपोखरा नजिकै रहेको वन समूहमा ३२१ उपभोक्ता रहेका छन् । वनक्षेत्रका करीब पाँच हेक्टर क्षेत्रफलमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगिएको छ ।

चितुवा, मृग, कालिजलगायत अन्य विभिन्न वन्यजन्तु र सयौं किसिमका जडीबुटीसमेत पाउन सकिने राम्चे सामुदायिक वनलाई पर्यटकीय हिसाबले विकास गर्न प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको प्रदेश सांसद युवराज खनालले जानकारी दिनुभयो । राम्चे सामुदायिक वनमा १९ रोपनी क्षेत्रफलमा अम्रिसो खेती तथा विभिन्न काठजन्य रुखहरु साल सिसौ, चिलाउनेलगायतका वनस्पति पाइन्छन् । राम्चे वनमा निर्माण हुने संरचनाको लागि रु ११ करोड पाँच लाख ३७ हजार ९३२ मा निर्माण सम्पन्न गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) समेत तयार भइसकेको छ । प्रदेश नं ५ को पाल्पासँगै गण्डकी प्रदेशको स्याङजा, तनहुँ तथा नवलपरासी क्षेत्रका पर्यटक आउने राम्चे वनमा दृश्यावलोकन स्तम्भबाट अवलोकन गर्नेका लागि रु ३० देखि ५० शुल्क लिने गरिन्छ भने सभाहलमा एउटा कार्यक्रम गरेको एक दिनको एक हजार ५०० शुल्क लिने गरिएको छ । प्रदेश नं ५ सरकारले छुट्टयाएको बजेटबाट बाल उद्यान, सुविधा सम्पन्न दृश्यावलोकन स्तम्भ, मोटरबाटोको स्तरोन्नति गर्ने, पानीको फोहरा, बगैँचालगायतका संरचना निर्माण गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology