• Tuesday 8th of September 2026

प्रकृतिकी रानी पाल्पा


  • गोकर्णेश्वर अनलाइन

धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पहिचानले भरिएको पाल्पामा पर्यटकको आकर्षण देखिन थालेको छ । थुप्रै सांस्कृतिक पहिचान बोेकेको पाल्पामा केही प्राकृतिक तथा केही कृत्रिम ढङ्गले निर्माण गरिएका संरचन र स्थलहरुले यहाँ घुम्न आउने मानिसलाई लोभ्याउने गर्छ । तराई क्षेत्रसँग सिधा सम्पर्कमा रहेको पाल्पा नेपालकै महत्वपूर्ण पर्यटकीयस्थल पोखरा पुग्ने पर्यटकका लागि सङ्गमस्थलका रूपमा समेत परिचित छ । प्रदेश नं ५ को केन्द्र अर्थात् यस क्षेत्रका नागरिकका लागि मुख्य व्यापारिक केन्द्र बुटवलबाट पोखरा पुग्ने पर्यटक पाल्पामा सुन्दर क्षेत्रका अवलोकनपछि स्याङ्जा हुँदै पोखरा पुग्न सक्छन् । यहाँका विभिन्न आस्थासँग जोडिएका धार्मिकस्थल, खोला नदी, गुफा, सामुदायिक वन, ऐतिहासिक, पुरातात्विक वस्तु, तथा यहाँ उत्पादन हुने कृषि उपजले पनि पाल्पाको पहिचानलाई बेग्लै बनाएको छ । गर्मीको समयमा शीतल अनुभव गर्न तराईको नवलपरासी तथा बुटवलका नागरिक पाल्पा घुम्न र केही महिना यही बसेर समेत फर्कने गर्छन् ।

पाल्पा आएपछि नेपालको ताजमहलका रूपमा परिचित रानीघाट दरबार, पाल्पा दरबार, भगवती मन्दिर, श्रीनगरडाडाँ, कौडेलेक, सत्यवती मन्दिर, ऋषिकेश मन्दिर, एशियामै ठूलो भैरवस्थान मन्दिरको त्रिशूल, काउले वनको अम्रिसो खेती, सुकेताल, रामपुरको तालपोखरा, तनहु रम्भापानी मन्दिर, वल्डेङगढी, हिमशृङ्खला, कुडुलेघर, राम्चेवनलगायत थुपै्र हेर्न लायक क्षेत्र छन् । यसबाहेक पनि जिल्लाका सुन्दर हरियाली सामुदायिक वन तथा यहाँका खानीले जिल्लाको सुन्तरतालाई जोगाएको छ । जिल्लामा ६८४ सामुदायिक वनअन्तर्गत करीब ४० को हाराहारीमा कवुलियती वनले धेरै पर्यटकलाई आकर्षण गरेको सामुदायिक वन महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा करीब ५० को सङ्ख्यामा खानीसमेत रहेको छ । दश स्थानीय तह रहेको पाल्पामा थुप्रै सङ्ख्यामा रहेका पर्यटकीयस्थलको पहिचान रहे पनि यहाँ उचित मात्रामा पर्यटक आउन नसकेको सरोकारवालाहरु बताउँछन् । पाल्पामा इतिहाससँग जोडिएका विभिन्न दरबारहरुसमेत ओझेलमा छन् । सदरमुकाममा रहेको अहिलेको सङ्ग्राहलय अर्थात् पाल्पा दरबार तानसेन आउनेबित्तिकै मानिसले खोज्ने ठाउँ हो ।

१९६९ मा पश्चिम कमाण्डर जनरल प्रतापशम्शेरले निर्माण गरेका हुन् । पहिले प्रशासनिक काम हुने दरबार द्वन्द्वकालमा तत्कालीन विद्रोही पार्टी माओवादीले ध्वस्त पारेपछि पुनःनिर्माण गरिएको हो । एशियाकै ठूलो मानिने काठबाट बनाइएको शीतलपाटी मूलढोका, तानसेनबाट करीब १३ किलोमिटर उत्तरमा अवस्थित रानीघाट तथा रानीमहल सबैले मन पराउने सुन्दर क्षेत्र हुन् । पश्चिममा पाल्पा, गुल्मीको सङ्गम रिडीको विषयमा महाभारतमा समेत उल्लेख गरिएको छ । बाक्लो मगरबस्ती रहेको र विभिन्न जनजातिका आफ्ना–आफ्ना बेग्लाबेग्लै सांस्कृतिक पहिचान रहेका छन् । सालैजो, सोरठी, मारुनी, सरायनाच, बालुन, ख्याली, मालश्रीलगायतका लोक धुन तथा सांस्कृतिक प्रस्तुतिले यहाँको मौलिकतालाई जोगाएको छ । डाडाँकाडाँ उकालो ओरालो यहाँको प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको पाल्पा साँच्चिकै सुन्दर छ । तर, चाहेजति पर्यटक भित्र्याउन नसकिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी देश भारतलगायत बाहिरबाट बुटवल पाल्पा हुँदै कास्की पोखरासम्म पर्यटक आउने जाने गरे पनि सोचेजति पर्यटक पाल्पा आउन सकेका छैनन् ।

पाल्पा तानसेन तथा रामपुर क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्र अवलोकन गरेर रामपुर हुँदै पोखरा पुग्न सकिने भए पनि त्यति पर्यटक आउन सकेका छैनन् ।” अध्यक्ष महर्जनले भन्नुभयो, “पाल्पामा घुम्ने र हेर्ने थुप्रै ठाउँ छ, चारधाममध्येको एकधाम रुरुक्षेत्र, नेपालको ताजमहलको रुपमा परिचित रानीमहल, एशियाकै अग्लो मानिने त्रिशूल, थुपै्र हेर्नलायक ठाउँ भएर पनि पर्यटक कम आउँछन् ।” उहाँका अनुसार ठाउँ–ठाउँमा होर्डिङबोर्ड राखेर यहाँको पहिचान बुझाउन जरुरी रहेको छ । महर्जनले भन्नुभयो, “पाल्पाको पर्यटकीयस्थलको प्रचारप्रसार हुन सके पर्यटन वर्ष २०२० मा उल्लेख्य रूपमा पर्यटक भित्रन्छन् । पोखरा जाने पर्यटक पाल्पामा बास बस्छन् तर, घुम्ने कहाँ हो उनीहरुले पत्तो पाउँदैनन् उद्योग वाणिज्य सङ्घ पाल्पाका अध्यक्ष महर्जनले थप्नुभयो । यता रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले यहाँको भू–बनावट तथा आउने जाने सडक सुविधा नहुँदा थुपै्र पर्यटकीयस्थल भए पनि ओझेलमा परेको बताउनुभयो । “पाल्पामा एयरपोर्ट नहुनु तथा आउन जान सडक सुविधा नहुनु र प्रचार–प्रसारको कमीका कारण पनि हाम्रा धार्मिक तथा ऐतिहासिकस्थलसमेत ओझेलमा परेका छन्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology