• Saturday 25th of July 2026

एकै गाउँमा दुई करोडको सुन्तला


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष रु दुई करोडको सुन्तला फलाएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन् । सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको सो गाउँमा यो वर्ष ३० देखि ४० प्रतिशत सुन्तला उत्पादनमा वृद्धि भएको अगुवा किसान अनन्तबहादुर खड्काले बताउनुभयो । “गत वर्ष मौसम राम्रो भएन”, खड्काले भन्नुभयो, “यो वर्ष सुन्तला राम्रो फल्यो, बिक्री वितरणमा लागिरहेका छौँ ।” वडास्तरीय कृषि समितिले सिगानामा यस वर्ष झण्डै रु दुई करोडको सुन्तला उत्पादन भएको बताएको छ । अहिले प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री भइरहेको छ । यहाँ राम्रो फल लागिरहेका १२ हजार सुन्तलाका बोट छन् जसमध्ये बढीमा एक बोटबाट २८ हजार ७०० देखि घटीमा रु १० हजारका हिसाबले आम्दानी हुँदै आएको बानपा–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । “बगैँचा व्यवस्थापनका कारण यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो”, जिसीले भन्नुभयो, “वडा कार्यालयले प्रत्येक वर्ष किसानलाई १० हजार सुन्तलाका बिरुवा अनुदानमा वितरण गर्दै आएका छौँ”, वडाध्यक्ष जिसीका अनुसार नयाँ बिरुवाले उत्पादन दिन थालेपछि वार्षिक एक करोडका दरले सुन्तला उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिइएको छ ।

उपर्युक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले बताउनुभयो । उहाँले चार वर्ष अगाडि लगाएको बोटबाटै रु १० हजार बराबरको सुन्तला बिक्री भएको बताउनुभयो । खड्काको बगैँचामा १०० सुन्तलाको बोट छन् । सिगानाका अधिकांश कृषक सुन्तला खेतीमा आर्कषित हुन थालेका छन् । अहिले झण्डै २० देखि २५ हजार सुन्तलाका नयाँ बिरुवा वडा कार्यालयमार्फत वितरण गरिसकेको छ । यहाँका कृषकले सुन्तला बिक्रीबाटै अधिकतम रु पाँच लाखदेखि न्यूनतम ७० हजार कमाउँदै आएका छन् । उक्त ठाउँमा सुन्तला भण्डारणका लागि गत वर्ष गण्डकी प्रदेश सरकारको रु ३० लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माणसमेत गरिएको छ । चिस्यान केन्द्रमा राखेका सुन्तलालाई बेमौसममा प्रतिकेजी रु १०० देखि १५० मूल्यमा बिक्री हुँदै आएको छ । गत वर्ष यहाँबाट झण्डै एक करोडको हाराहारीमा सुन्तला पोखरा, चितवनलगायतका स्थानमा निर्यात भएको थियो । यस वर्षको अधिकांश सुन्तला पोखरा निर्यात भएको छ ।

सिगाना गाउँमा सम्बन्धित निकायबाट प्राविधिक र व्यवस्थापकीय सहयोग भएमा सुन्तला खेती अझै बढाउने सोचमा किसान छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रममा सिगाना पनि समावेश छ । सुन्तलाको उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी परियोजना सञ्चालन भइरहेको छ । सुन्तला खेतीका लागि सिगाना उर्बर मानिन्छ । अन्न बालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, दमेकलगायतका ठाउँ सुन्तला खेतीका लागि उर्बर मानिन्छन् । जिल्लामा करीब पाँच हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology