• Friday 24th of July 2026

पोखरा र फेवाताल एकअर्काका परिपूरक – मुख्यमन्त्री गुरुङ


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरा र फेवाताल एकार्काका परिपूरक भएको बताउनुभएको छ । पोखरा महानगरपालिका–२४ स्थित बेतयानी खोलामा निर्माण गरिने सिन्टेसन बाँध र सिल्टपोखरीको आज एक समारोहबीच शिलान्यास गर्दै उहाँले पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य फेवाताल रहेको बताउनुभयो । फेवातालका माध्यमबाट पोखरामा पर्यटन व्यवसायीले राम्रो आयआर्जन गर्नुका साथै समग्र पोखरेली केही न केहीरुपमा यसबाट लाभान्वित भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखराका नौ वटासहित गण्डकी प्रदेशका समग्र तालको संरक्षण र विकास गर्नु तीनवटै तहका सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले फेवातालको सिमाङ्कनका लागि सङ्घीय सरकारको भूमि सुधार मन्त्रालयलाई सिफारिस गरिएको जानकारी दिनुभयो । प्रदेश सरकारले ताल विकास प्राधिकरण ऐन निर्माण गरेर कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले तालतलैयाको आसपासमा जथाभावी गरिने विकास निर्माणले वातावरणका साथै सो क्षेत्रका जलाशयसमेत सङ्कटमा पर्ने गरेको धारणा राख्नुभयो ।

सङ्घीय सरकारले सिमाङ्कन, प्रदेश सरकारले सीमाको संरक्षण र स्थानीय सरकारले नदीजन्य वस्तुको व्यवस्थापन गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षणका लागि सर्वोच्च अदालतले गरेको पैmसला कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले वर्षाको समयमा खहरेखोलाले बगाएर ल्याएको ढुङ्गा, माटो, बालुवालगायतको नदीजन्य वस्तुलाई फेवातालमा जानबाट रोक्न सिल्टेसन बाँधले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । चार वटा खोलामा निर्माण गरिएका सेल्टपोखरीमा वार्षिक तीन लाख घनमिटर वस्तु जम्मा हुने र त्यसलाई बजारमा बिक्री गरेर लगभग रु २३ करोड आम्दानी गर्ने लक्ष्य महानगरले लिएको बताउँदै उहाँले त्यसबाट भएको आम्दानी आवश्यकताअनुसार अन्य क्षेत्रको संरक्षणमा लगानी गरिने जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरले यसअघि ६० हजार घनमिटर माटो झिकेर १५ रोपनी तालको आधार वृद्धि गरेको बताउँदै सिल्टेसन बाँध निर्माणले फेवातालको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । महानगरका वरिष्ठ इञ्जिनीयर शारदामोहन काप्mलेले पोखरा–२४ स्थित बेतयनी खोलालगायत लौरुक, अँधेरीखोला, हर्पनखोला र घाँटीछिनामा १५ महिनामा सिल्टेसन बाँध निर्माण गर्ने निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology