• Saturday 25th of July 2026

विदेशी ज्ञान, स्वदेशी उद्यम


  • गोकर्णेश्वर अनलाइन

हिउँदको समय । घर छेउमा बुङ धुलो उड्ने बारी छ । सिँचाइका लागि वर्षे पानीलाई सङ्कलन गर्ने हो भने जमिनको अभाव छैन । सानोतिनो तरकारी लगाउन धारामा खेर गइरहेको पानीले पनि पुग्छ । काम गर्ने उमेर र समय छ । ‘कसरी व्यवस्थापन गर्ने’ भन्ने विषयमा जानकारी नुहँदा बागलुङ नगरपालिका–१४ नारायणस्थानकी शर्मिला जीसी खड्काले तरकारीको खेती शुरु गर्न सक्नुभएको थिएन । उहाँ गत असारमा इजरायलबाट फर्किनुभएको थियो । ११ महिनाको बसाइमा उहाँले पढेको र सिकेको तरकारी खेती हो । सानाकिसान लघुवित्त वित्तीय संस्थामार्फत इजरायल पुग्नुभएका उहाँले तरकारी खेतीका सीप सिक्नुभएको थियो । स्वदेश फर्किएपछि अहिले घरछेउकै धुलो उड्ने बारी हराभरा बनाउने तरखरमा लाग्नुभएको छ उहाँ । उहाँले भन्नुभयो “सिकीयो र पढियो, अब गरेर देखाउनु छ । ज्ञान लिएर आएकी छु,यहाँ केही गर्छु ।” पछिल्लो पाँच वर्षमा इजरायलको कृषि प्रणालीका बारेमा अध्ययन गर्न बलेवाका सात युवायुवती जानुभएको थियो ।

ती मध्ये ४ जनाले व्यावसायिक कृषिमा रमाइरहनुभएका सस्थाका प्रबन्धक नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । भैँसी फार्ममा काम गरेर फर्किनुभएका नारायणस्थानकै नरेश श्रेष्ठ र अमलाचौरका सन्तोष पौडेलले भैँसी फार्म सञ्चालनमा ल्याउनुभएको थियो । नरेशको गोठमा सात र सन्तोषको गोठमा पाँच वटा भैँसी रहेका छन् । “दूधको बजार राम्रो रहेकाले भैँसीपालन थालेका हौँ ।” उहाँहरुले सुनाउनुभयो । दूध बागलुङ बजार र छिमेकी जिल्ला पर्वतको कुश्मा बजारमा बिक्री हुने गरेको छ । बलेवाका गजेन्द्र बस्नेतले कुश्मा बजारमा होटल व्यवसाय सञ्चालनमा ल्याउनुभएको छ । उहाँले होटल व्यवस्थापनको विषयमा त्यहाँ ज्ञान हासिल गर्नुभएको थियो । सहकारीमार्फत कृषि, पशुपालन र होटल व्यवस्थापनलगायतका स्वरोजगारमूलक पेशाको सीप हासिल गर्नका लागि युवाहरु इजरायल जाने गरेका छन् । ‘विदेशमा सिकेको सीपलाई यहाँ प्रयोग गरेर युवाहरुले आफूले मात्रै कमाई गरेका छैनन् अरुलाई पनि सिकाइ भएको छ’ सस्थाका पूर्व अध्यक्ष नरबहादुर खत्रीले भन्नुभयो “युवाहरुमा आफ्नो माटो कोतर्ने जागरण ल्याउनु जरुरी छ ।” साना किसान कृषि सहकारीमा शेयर सदस्य रहेका परिवारबाट २२ वर्षदेखि २८ वर्षसम्मको उमेर समूहका युवायुवती मात्रै सीप सिक्न इजरायल जान पाउँछन् ।

सहकारीले कक्षा १२ पास गरेका युवायुवतीहरु माझ प्रारम्भिक कक्षा सञ्चालन गरेर अन्तरवार्तामार्फत छनौट गरेर लघुबित्त बित्तीय संस्थालाई सिफारिस गर्ने गरेको छ । उनीहरु मध्यबाट संस्थाले गोला प्रथा र अन्तरवार्तामार्फत छनौट भएकालाई मात्रै पठाउने गरेको छ । सहकारीमार्फत इजरायल जाँदा रु दुई लाख ५० हजारदेखि रु तीन लाखसम्म खर्च हुने प्रबन्धक ढकाल बताउनुहुन्छ । “त्यहाँ पुगेपछि पढ्नेदेखि प्रयोगात्मक सीप सिकाइन्छ” उहाँले भन्नुभयो “हप्तामा दुई तीन दिन निश्चित समय काम गर्न पाईन्छ, विद्यार्थीले त्यसैबाट खर्च उठाउँछन् ।” प्रविधिको सिकाइका लागि युवायुवतीलाई त्यहाँ पठाउने गरिएको कृषि सहकारी सङ्घका केन्द्रीय अध्यक्ष खेमबहादुर ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology