• Saturday 25th of July 2026

समाजवादोन्मुख जनताको जनवादका आधारमा रूपान्तरण – प्रवक्ता श्रेष्ठ


  • गोकर्णेश्वर अनलाइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादोन्मुख जनताको जनवादका आधारमा देशको सामाजिक एवं आर्थिक रूपान्तरण गरिने बताउनुभएको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि नेकपाका तर्फबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गरेपछि प्रेस सङ्गठन नेपाल, कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक क्रान्तिको प्रक्रियामा देश अघि बढेको बताउँदै जनाताको समृद्धिको चाहना पूरा गर्न पार्टी लागेको बताउनुभयो । देश र जनताको सेवामा समर्पित हुन र आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उल्लेख गर्दै उहाँले राजनीतिमा पद आवश्यक नभए पनि यो जिम्मेवारीका रूपमा रहने उल्लेख गर्नुभयो । पार्टी एकतालाई सुदृढ बनाउँदै नेकपा अघि बढिहेको बताउँदै उहाँले सङ्गठनलाई सक्रिय र सरकारलाई सफल बनाउँदै समृद्ध नेपाल निर्माणको अभियानमा पार्टी जुटिरहेको बताउनुभयो ।

पार्टी एकीकरणको काम लगभग सकिएको र बाँकी केही काम पनि टुङ्गोमा पुरयाउन लागिएको जानकारी दिँदै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पनि सक्ने गरी तयारी भइरहेको स्पष्ट पार्नुभयो । सभामुख चयनका सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले यसको निर्णय लिन केही ढिला भए पनि आगामी संसद् चल्नु अगावै यस विषयमा टुङ्गोमा पुगिने जानकारी दिनुभयो । नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार भगवती न्यौपानेले पार्टीका तर्फबाट गरिएको उम्मेदवारीको निर्णयले आफ्नो राजनीतिक जीवनको मूल्याङ्कन भएको बताउनुभयो । विसं २०४८ देखि अनेरास्ववियु, अनेमसङ्घ हुँदै पार्टीमा लामो समय बिताएको स्मरण गर्दै उहाँले व्यवस्था परिवर्तनको आन्दोलनमा निभाएको भूमिकालाई पार्टीले मूल्याङकन गरेको बताउनुभयो ।

राजकीय भूमिका दिने अवसरका लागि पार्टीप्रति आभार व्यक्त गर्दै उहाँले निर्वाचित भएपछि कानून निर्माणका साथै देश विकासको काममा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा गण्डकी प्रदेशका ६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका १७० प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology