• Saturday 25th of July 2026

दोलखा जिल्लाको विकास गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री गुरुङ


  • गोकर्णेश्वर अनलाइन

महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको विकासमा लाग्न विभिन्न राजनीतिक दल, स्थानीय सुमदाय तथा युवा पुस्तासँग आग्रह गर्नुभएको छ । दोलखा सांस्कृतिक डबलीको शुभारम्भ एंव परिचयात्मक कार्यक्रमको यहाँ आज उद्घाटन गर्दै उहाँले राजनीतिक रुपमा फरक फरक आस्था र विचार भए पनि दोलखा जिल्लाको पर्यटनसँगै आर्थिक विकासका लागि एकजुट हुन अपिल गर्नुभएको हो । मन्त्री गुरुङले भन्नुभयो, “दोलखा जिल्लाको समग्र विकासका लागि सरकार पक्ष वा प्रतिपक्ष भनिरहनु पर्दैन, जुन पार्टीमा भए पनि एकजुट भएर लाग्नुपर्छ ।” दोलखा जिल्ला पर्यटकीय हिसाबले अत्यन्त सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै उहाँले साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन स्थानीय तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार गोपाल थपलियाले दोलखा जिल्लालाई पर्यटकीय रुपमा विकास गर्न सरकारले पनि प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । समाजसेवी दिव्यमणि राजभण्डारीले नेपालको परिवर्तनका लागि भएका धेरै सङ्घर्षहरु दोेलखा जिल्लाबाटै शुरु भए पनि त्यस जिल्लालाई सबैले बिर्सिंदै गएको गुनासो गर्नुभयो । डबलीका अध्यक्ष मदनदास श्रेष्ठले दोलखा जिल्लामा बसोबास गर्ने जिरेल, थामी र सुरेल सुमदायको कला, संस्कृति र परम्परा जोगाउन युवा पुस्ताको योगदान हुनुपर्छ भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology