• Saturday 25th of July 2026

राष्ट्रियसभा बैठक : ‘रुग्ण उद्योग कहिले सञ्चालनमा आउँछन् ?’


  • गोकर्णेश्वर अनलाइन

मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिइएको उद्योग क्षेत्रको विकासमा उल्लेख्य ध्यान दिन सरकारलाई सांसदहरुले आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा उहाँहरुले सरकारकै लगानीमा रहेका कतिपय उद्योग रुग्ण अवस्थामा रहेको भन्दै तत्काल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नन्दा चपाईंले उद्योग कलकारखानालाई आर्थिक विकासको मेरुदण्डका रूपमा मानिएको भए पनि पछिल्ला दिनमा धेरै उद्योग कलकारखाना रुग्ण अवस्थामा रहेकाले तत्काल ती उद्योग सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “अहिले पनि कतिपय उद्योग बेवारिस अवस्थामा छन्, सरकारले तत्काल ती उद्योगलाई सञ्चालनमा ल्याउनुपर्छ”, उहाँले भन्नुभयो । सरकारी लगानीमा खुलेका करोडौँको पूर्वाधारसहित स्थापना भएका दर्जनौँ उद्योग अहिले पनि बन्द अवस्थामा छन् । वीरगञ्ज चिनी कारखाना, हेटौँडा कपडा, भृकृटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा टायल उद्योग, कृषि सामग्री लिमिटेड, बुटवल धागोलगायत उद्योग लामो समयदेखि बन्द रहेका छन् । ती उद्योगको संरचना जीर्ण अवस्थामा छन् ।

सरकारले बन्द भएका तथा रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्ने बताए पनि ती उद्योग पूर्ववत् अवस्थामा सञ्चालनमा आउन सकेका छैनन् । लामो समय बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेड केही समयअघि सञ्चालनमा आए पनि त्यसले पर्याप्त उत्पादन दिन सकेको छैन । नेकपाका हरिचरण शिवाकोटीले सुविधासम्पन्न पूर्वाधार निर्माण गरेर चिकित्सा शिक्षा अध्ययन गर्ने उद्देश्यले सञ्चालनमा आएका अस्पताललाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । “अत्याधुनिक सुविधा दिने गरी सरकारको अनुमति लिएर नै सञ्चालनमा आएका अस्पताललाई चिकित्सा शिक्षा अध्ययन गर्न किन अनुमति नदिने ?”, उहाँले प्रश्न गर्नुभयो । नेकपाकै रामलखन चमारले भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सरकारले धार्मिक क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनकपुर, त्रिवेणीधाम, लुम्बिनीलगायत क्षेत्रलाई जोड्ने गरी पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय जनता पार्टीका रमेश यादवले पूर्वाधार निर्माणका नाममा नागरिकलाई विस्थापित गर्न नहुनेमा जोड दिँदै प्रभावित बासिन्दालाई उचित मुआब्जा र जग्गा उपलब्ध गराउन माग गर्नुभयो ।

नेपाली काँग्रेसका तारादेवी भट्टले सरकारले सङ्घीयता कार्यान्वयनमा तदारुकता देखाउन नसकेको आरोप लगाउनुभयो । सत्ता सञ्चालन गर्ने व्यक्तिमा देखिएको एकात्मक सोचमा परिवर्तन हुने नसकेको उहाँको भनाइ थियो । “सङ्घीय व्यवस्थाप्रति प्रदेश सरकारले प्रश्न उठाउने अवस्था आएको छ, सङ्घ, प्रदेश तथा स्थानीय तहमा नेकपाको वर्चस्व भए पनि कामकारवाहीमा तालमेल भएको देखिएन”, उहाँले भन्नुभयो । नेपाली काँग्रेसका प्रकाश पन्थले वेद व्यासको जन्मभूमिलाई विकास गरी पर्यटन प्रवद्र्धनमा लगाउनुपर्नेमा जोड दिनुभयो । व्यासको जन्मभूमि वैदिक दर्शन अध्ययनको केन्द्र बन्न सक्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology