• Saturday 25th of July 2026

सभामुखमा सापकोटा निर्वाचित


  • गोकर्णेश्वर अनलाइन

प्रतिनिधिसभाको रिक्त सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एकमात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । बैठकमा सभामुखको उम्मेदवारको सूचनासम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पारदर्शिता र जवादेहिताका आधारमा सदनका काम कारवाहीमा जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यसमा सिङ्गो संसद्लाई विश्वासमा लिएर काम गर्नुहुनेछ भन्ने विश्वासका साथ सापकोटालाई प्रस्ताव गरिएको हो भन्नुभयो । बैठकमा उहाँको विकल्पमा अरू कुनै उम्मेदवारी नपर्नुले आफूहरुको चयन उपयुक्त रहेछ भन्ने देखिएको बताउनुभयो । प्रस्तावमाथि सोही पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेकपाका ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गर्नुभएको थियो ।

पूर्वसभामुख घर्तीले सापकोटाको एकमात्र उम्मेदवारी पर्नुले सहमतिको वातावरण बनेको र शान्ति प्रक्रियाका बाँकी काम तथा राष्ट्रिय मामिलाका विषयमा काम गर्न सहज हुने वातावरण बनेको देखिनु हो भन्नुभयो । उहाँले तीन दशक लामो शैक्षिक क्षेत्रमा अनुभवका साथै जनयुद्ध र शान्ति प्रक्रियामा भूमिका निर्वाह गर्नुभएकाले सापकोटाको उम्मेदवारी उपयुक्त भएको उहाँले बताउनुभयो । सांसद घर्तीले भन्नुभयो, “उहाँमा सांसद र मन्त्रीको समेत अनुभव रहेको र राजनीतिमा इमान्दार र निष्ठावान् नेता हुनुहुन्छ । भोलिका दिनमा प्रतिनिधिसभालाई तटस्थ, सन्तुलित र जनपक्षीयरुपमा कुशल नेतृत्व दिनुहुनेछ भन्ने मेरो विश्वास छ ।” प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले उहाँले सत्तारूढ दलको यथेष्ट मत रहेको र उसले आफ्नो उम्मेदवार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेदवारी नदिने निर्णय संसदीय दलको बैठकले गरेको जानकारी दिनुभयो । उहाँले आफूहरुले उपसभामुख पद पाउनका लागि काँग्रेसले सभामुखमा उम्मेदवारी नदिएको स्पष्ट गर्दै भन्नुभयो, “संविधानले दुई पदमा फरक फरक पार्टीका उम्मेदवार हुनुपर्ने उल्लेख गरेकाले त्यसमा सत्तापक्षले नै विचार गर्ला तर हामी उपसभामुखका लागि हातमा कमण्डलु लिएर हिँडेका छैनौँ ।

सभामुखका उम्मेदवारका बारेमा आज उत्पन्न आशङ्का मेट्न भोलिका दिनमा आश्वस्त हुने गरी काम गर्न सक्नुहोस् । हामी सहयोग गर्न तयार छौँ ।” डा रिजालले व्यक्तिका विषयमा काँगे्रसको समर्थन र विरोध नरहेको जनाउँदै महिला आन्दोलनको इतिहास सम्झाउँदै विधिको शासन र लोकतान्त्रिक चरित्रका आधारमा जनता र संसद् सदनप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा ध्यानाकर्षण गराउनुभयो । ज्येष्ठ सदस्य ठाकुरले बैठकमा निर्वाचिन भएकामा सापकोटालाई बधाई दिनुभयो । यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिनुभएको राजीनामाबारे बैठकलाई जानकारी गराउनुभएको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology