• Saturday 25th of July 2026

आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले राजनीतिको आदर्श र सहमतीय प्रणालीलाई अनुसरण गर्न प्रदेशसभाका सदस्यलाई आग्रह गर्नुभएको छ । प्रदेशसभाका प्रतिपक्ष दलका नेता तथा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको निधनमा नेपाली काँग्रेस संसदीय दल, प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले प्रतीपक्षीय मित्रता गुमाउँदा दुःखी भएका छौँ भन्नुभयो । मुख्यमन्त्री पोखरेलले राजनीतिक आन्दोलनमा उहाँजस्ता पात्रको खास भूमिकाले राजनीतिको आदर्श बचाएको उल्लेख गर्दै प्रदेशसभालाई स्थापित गर्न स्व पोखरेलको योगदानको प्रशंसा गर्नुभयो । उहाँले स्व. पोखरेललाई सङ्षर्घशील व्यक्तित्वका रुपमा चित्रण गर्दै प्रदेशसभामा सहमतीय प्रणालीलाई थालनी गरेर अरूका लागिसमेत अनुसरणयोग्य काम गरेको बताउनुभयो । प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आफ्नो पार्टीप्रतिको लगाव र प्रदेशसभामा उहाँले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले सादगी जीवनशैली र जीवनको अन्तिम समयमा पनि लोभलालच नगर्नुभएका स्व पोखरेलकोे आदर्श जीवनशैलीलाई सबैले अनुसरण गर्न आवश्यक भएको बताउनुभयो । नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाका विभिन्न विषयमा सहमति र छलफलबाट निष्कर्षमा पुग्ने नेताका रुपमा उहाँलाई आफूले बुझेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेस संसदीय दल, प्रदेश नं ५ का उपनेता वीरेन्द्र कनौडियाको अध्यक्षतामा भएको सो श्रद्धाञ्जलिसभामा पार्टीका प्रमुख सचेतक निर्मला क्षेत्री, समाजवादी पार्टीका सहसराम यादव, राजपाका कल्पना पाण्डे, प्रदेशसभा सदस्य बैजनाथ कलवारले मन्तव्य व्यक्त गर्दै प्रदेशसभाले एक कुशल अभिभावक गुमाएको बताउनुभयो । प्रदेशसभाका प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ६ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology