• Saturday 25th of July 2026

शहीदको सपना पूरा गर्न लाग्नुपर्छ : नेता सिंह


  • गोकर्णेश्वर अनलाइन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ । शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उद्घाटन गर्दै उहाँले प्रजातान्त्रिक , लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताउनुभयो ।“२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र गणतन्त्र स्थापनाका लागि धेरै शहीदले रगत बगाएका छन्”, नेता सिंहले भन्नुभयो, “शहीदको सपना पूरा गर्नसके मात्रै उनीहरुप्रति सच्चा श्रद्धा गरेका ठहरिनेछ ।” खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अल्ट्रा म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । “मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले सहयोग पुग्ने विश्वास गरेका छौँ”, उहाँले भन्नुभयो, “खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता गरेका हौ ।”

म्याराथनमा ७० धावकको सहभागिता रहेको छ । म्याराथनमा देशभरबाट धावक सहभागी भएको र धावकलाई पनि यी दुई गाउँको रीतिरिवाज र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त हुने जनाइएको छ । व्यास नगरपालिका–५ मानहुँबाट शुरु भएको म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । प्रतियोगिता प्रथम, द्धितीय, तृतीय हुनेलाई क्रमशः रु ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ तथा सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ७६ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका–९ का अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो । गत वर्ष नेपाली सेनाका खगेन्द्रबहादुर भाटले उक्त दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी प्रथम हुन सफल हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology